झण्डै तीन दशकदेखि यहाँका जनताले त्यो जग्गा भोगचलन गर्दै आए । तर, जब गिरिबन्धु टी स्टेटको विर्तामोड नगरपालिका–६ मा पर्ने ३ सय ४३ विगाहा १९ कठ्ठा १२ धुर जग्गा सट्टापट्टा वा स्थानान्तरण गर्नका लागि स्वीकृत दिने निर्णय सरकारले गर्यो ।
What you should know
बिर्तामोड — यो निर्वाचन आयोगले देशभरिका उम्मेदवारलाई प्रचारप्रसारका लागि तोकेको समय हो । यो अवधिमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कुनै पनि ठाउँ पुगेर मतदातासँग आफ्नो एजेण्डा सुनाउने अधिकार उम्मेदवारलाई छ ।
तर, झापाको क्षेत्र नं. २ मा कम्तीमा २ हजार मतदाता रहेको विर्तामोड बसपार्क क्षेत्रमा चाहिँ सबै उम्मेदवारलाई प्रवेश निषेध गरिएको छ । गेटमै ब्यानर टाँग्दै लेखिएको छ, ‘यहाँ न्यायको खुलेआम हत्या भएको छ, निर्वाचन गतिविधि निषेधित क्षेत्र ।’
‘राजनीतिक दलका कुनै उम्मेदवारले हाम्रो पिरमर्का सुनेनन्, त्यसैले कोही पनि उम्मेदवारले यहाँ आएर भोट माग्ने नैतिकता राख्दैनौं भनेर सन्देश दिन निषेध गरेका हौं,’ अर्जुनधारा–११, बसपार्कका सुजन शिवाकोटीले भने, ‘हरेक नागरिकलाई हुने सम्पत्तिको हक गैरकानुनी ढंगले खोसिएको छ । यस्तोमा सबै नेताहरु चुप लागेका बेला हाम्रो घाउमा नुन छर्किन नआइदिनुस् भनेर सांकेतिक रुपमा विरोध जनाएका हौं ।’
विर्तामोड नगरपालिका–५ र अर्जुनधारा नगरपालिका–११ मा पर्ने विर्तामोड बसपार्क वरिपरिको ५१ बिगाहा जग्गा कुनै समय गिरिबन्धु टी स्टेट अन्तर्गतको ‘नाज टी स्टेट प्रालि’को नाममा थियो ।
बसपार्क व्यवस्थापन समितिका कार्यालय सचिवसमेत रहेका स्थानीय सुदीप दंगालका अनुसार, कतिपय क्षेत्रमा राम्रो चिया उत्पादन हुन छाडेपछि ८ जेठ २०५२ मा नाज टी स्टेटलाई मेचीनगर नगरपालिकाको बहुनडाँगीमा स्थानान्तरण गर्ने निर्णय गरिएको थियो ।
‘स्थानान्तरण गरिएपछिको जग्गा चाहिँ आवास कम्पनीमार्फत जनतालाई बेच्ने गरी प्लटिङ गरिएको थियो,’ दंगालले भने, ‘त्यहिँको जग्गा हामीले २०/२२ वर्ष अघि किनेका थियौं ।’
झण्डै तीन दशकदेखि यहाँका जनताले त्यो जग्गा भोगचलन गर्दै आए । तर, जब गिरिबन्धु टी स्टेटको विर्तामोड नगरपालिका–६ मा पर्ने ३ सय ४३ विगाहा १९ कठ्ठा १२ धुर जग्गा सट्टापट्टा वा स्थानान्तरण गर्नका लागि स्वीकृत दिने निर्णय सरकारले गर्यो ।
एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला यो निर्णय भएको थियो, त्यसअघि २०७६ माघमा कानुन संशोधन गरेर विभिन्न व्यक्ति वा कम्पनीले लिएको जग्गा सट्टापट्टा वा बेचबिखन गर्न पाउने कानुनी व्यवस्था बनाइएको थियो । त्यसविरुद्ध हालका गृहमन्त्री ओमप्रकाश अर्यालले अधिवक्ताका रुपमा भक्तराज भारतीसमेत भएर अदालतमा रिट निवेदन दिएका थिए ।
तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले सट्टापट्ट गर्ने सरकारको निर्णय र त्यसअनुसार भएका सबै कामकारबाही गर्ने निर्णय बदर गरिदिएको थियो । त्यो बदरको प्रभाव ३० वर्षअघि नाज टी स्टेटको स्थानन्तरणपछि जग्गा लिएकाहरुलाई पनि पर्यो ।
‘२४ माघ २०८० सालमा सर्वोच्च अदालतले गरेको आदेशमा ५१ विगाहा जग्गा पहिल्यै तेस्रो पक्षलाई गइसकेको हुँदा गणना मात्र गर्नु भनिएको छ, बोल्नु परेन भनेको छ,’ स्थानीय पीडित शिव पौडेल भन्छन्, ‘तर, दुई वर्षयता न हाम्रो जग्गा बैंकमा राखेर केही गर्न मिल्छ, न बेचबिखन गर्न पाइन्छ । एकातिर समस्या छैन भनिरहने अर्कातिर मालपोतको हाकिमले माथिको आदेश भन्दै बेचबिखन गर्न पाइँदैन भनिरहन्छन् ।’
बसपार्क निवासी सन्जोगी चेम्जोङ आफूहरुले १८ वर्षअघि व्यवस्थित जग्गा किनेर घर बनाएको स्मरण गर्छिन् । ‘हामी सुकुम्बासी होइनौं, पसिना बगाएर किनेको हो, अवैध भए सरकारले त्यतिबेलै रोक्नुपर्थ्यो,’ उनले कान्तिपुरसँग भनिन्, ‘मेरो श्रीमान्ले इण्डियन आर्मीमा गएर कमाएको पैसाले घर बनाएका थियौं ।’
तर, अहिले छोरालाई पढ्न विदेश पठाउने बेला बैंकले ‘मूल्यांकन छैन, अवैध भयो’ भनेको उनी स्मरण गर्छिन् । ‘अहिलेकै गृहमन्त्री ओमप्रकाश अर्यालले त्यो मुद्दा हाल्नुभएको हो, त्यसले हामी प्रभावित भयौं, हाम्रो अधिकार सरकारले दिनुपर्छ,’ उनी भन्छिन् ।
उम्मेदवारहरु अहिले यही समस्याका कारण यो ५१ विगाहा क्षेत्रमा मत माग्न आउन सकेका छैनन् । ‘नेताहरु विकासका कुरा गर्छन्, तर यहाँ बस्नै नसक्ने धुलो छ, भ्रष्टाचार छ देशमा, जनतालाई सधैं दुःख दिने काम मात्र गरेको छ,’ स्थानीय शिव पौडेल भन्छन् ।
झापा २ बाट २०७९ सालमा निर्वाचित एमाले उम्मेदवार एवं पूर्वसभामुख देवराज घिमिरे चाहिँ आफूले पीडितसँग कुरा गरिरहेको बताउँछन् । ‘यो क्षेत्रमा त्यो अहिलेसम्म हल हुन नसकेको समस्या हो, त्यहाँबाट आउने साथीहरुसँग मेरो कुरा पनि भइरहेको छ,’ घिमिरेले कान्तिपुरसँग भने, ‘तर, बहिष्कारले समस्या समाधान गर्दैन, उहाँहरुलाई उम्मेदवारसँग कुराकानी गरेर आफ्नो समस्या राख्न आग्रह गर्छु ।’
उनले त्यहाँका जनतालाई साँच्चै पीडा परेको कुरा आफूलाई थाहा भएको भन्दै मतदाताले निर्वाचन गतिविधि बहिस्कार नगरुन् भन्ने इच्छा रहेको बताए ।
‘आफ्ना विचारहरु सुन्ने वातावरण बनाइदिनुस्, निर्वाचित भएपछि उम्मेदवारहरु समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता त्यहीँबाट जारी गर्छन्,’ उनले थपे, ‘आफूलाई मन परेको दल, मन परेको उम्मेदवारलाई मतदान गर्नुस् भन्ने आग्रह गर्न चाहन्छु ।’
तर, पीडित सुजन शिवाकोटी चाहिँ आफूहरुको विषयमा ठोस धारणा नआए मतदान समेत नगर्नसक्ने बताउँछन् । ‘अहिलेको अवस्थामा हामी भोट पनि नहाल्नसक्छौं, यद्यपि त्यो विषयमा समितिले निर्णय गरिसकेको छैन,’ उनले भने, ‘तर, अहिले यहाँबाट राजनीतिक दललाई भन्न चाहन्छौं, कृपया हाम्रो समस्या बुझिदिनुस् । यदी हामी गैरकानुनी छौं भने लिखित प्रमाण ल्याउनुस्, नत्र हाम्रो पीडामा साझा धारणा दिनुस् ।’
झापा २ बाट नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार धर्मशिला चापागाईं पनि विर्तामोड र अर्जुनधारामा पर्ने बसपार्कका वासिन्दाले न्याय पाउनुपर्ने बताउँछिन् ।
‘म त्यतिबेला जेलमै थिएँ । कसले अन्याय गर्यो, भ्रष्टाचार गर्यो, त्यति धेरै बुझ्दिन । तर, अवैध थियो भने त्यतिबेलै त्यो जग्गा बिक्री गर्ने काम किन भयो ?,’ उनले प्रश्न गरिन्, ‘अनि, यत्तिका वर्षपछि किन फेरि त्यसलाई अवैध करार गरियो ?’
निर्णायक बन्नसक्छ नयाँ मतदाता र ‘५१ विगा क्षेत्र’को मत
झापा २ मा पूर्वसभामुख घिमिरेसँगै उपसभामुख इन्दिरा राना मगरसमेत प्रतिष्पर्धामा छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी उनी जनताले आफूप्रति अथाह विश्वास देखाइरहेको बताउँछिन् ।
‘जनताले मलाई अहिले जितको टीका नै लगाइदिइसक्नु भयो,’ उनले घरदैलो अभियानमा मतदाताले लगाइदिएको टीका देखाउँदै भनिन्, ‘यसपछि यहाँका सबै समस्याहरु समाधान गर्ने हो ।’
पूर्वसभामुख र उपसभामुखबीचको प्रतिष्पर्धामा मतदाताले चाहिँ उम्मेदवारलाई नयाँ र पुरानो भनेर छुट्टयाइरहेका छन् । तर, यही २०७९ सालमा खुकुरी क्रस चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका स्वागत नेपालसमेत प्रतिष्पर्धामा छन् ।
उनले त्यसबेला २६ हजार ४४१ मत ल्याएका थिए । त्यसबेला उनलाई स्वतन्त्र उम्मेदवारी दिएको फाइदा थियो भने यसपाली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार छन् ।
झापा २ मै कांग्रेस नेतृ सरिता प्रसाईं पनि उम्मेदवार छन् । नेपाल विद्यार्थी संघको राजनीति हुँदै संसद्मा पुगेकी थिइन् ।
माओवादी उम्मेदवार चापागाईं चाहिँ २०६४ को पहिलो संविधानसभा निर्वाचनमा झापा–४ बाट विजयी भएकी थिइन् । उनले कांग्रेसका पुराना नेता चक्रप्रसाद बास्तोलालाई पराजित गरेकी थिइन् । चापागाईंले १९ हजार २ सय ७९ मत पाएकी थिइन् । ‘कथित हेभिवेटसँग मेरो तुलनै हुन सक्दैन’, चापागाईंले भनिन्, ‘मेरो र उहाँहरुको योगदान मतदातालाई थाहा छ ।’
एमाले उम्मेदवार घिमिरे पार्टी अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् । २०७९ मा उनी २८ हजार ७ सय १६ मत पाएर विजयी भएका थिए । झापा–२ मा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको १ देखि ९, कनकाई नगरपालिकाको ८ र ९ र बुद्धशान्ति गाउँपालिकाको १ देखि ३ वडा पर्छ । यो क्षेत्रमा १ लाख ४७ हजार ५ सय २२ मतदाता छन् ।
१३ हजार ४ सय ३१ नयाँ मतदाता थपिएका छन् । नयाँ मतदातासँगै ५१ विगाहा पीडित क्षेत्रका वासिन्दाको भोटसमेत यसपाली निर्णायक हुनसक्छ ।
‘पहिले धेरैपटक कांग्रेसलाई भोट हालेको थिएँ, तर यसपाली घन्टीलाई हाल्दैछु,’ पेशाले सवारी चालक बलविक्रम बोहोरा (३१) भन्छन्, ‘मलाई उम्मेदवार को हो भन्ने पनि थाहा छैन, तर घन्टीलाई नै मत हाल्छु ।’
झापा २ मा उनी जस्ता थुप्रै मतदाता भेटिए, जसले आफूले खुलारुपमा नयाँलाई रोज्ने बताए । तर, कांग्रेस–एमालेका समर्थक चाहिँ आफूले पुरानै पार्टीलाई मत हाल्ने भए पनि प्रष्ट खुल्न चाहेनन् ।
नाम उल्लेख नचाहने अर्जुनधारा–१, साधुटारकी ३२ वर्षीया महिलाले भनिन्, ‘मैले भोट एमालेलाई नै हाल्ने हो, नयाँले भ्रम मात्र छर्न खोजेका छन्, त्यसमा फसिन्न ।’
दलका पक्षमा खुलेर आउने मतदाता चाहिँ नगन्य भेटिए । बरु कतिपयले मतदानको विषयमा आफूहरुले निर्णय नै गरिनसकेको बताए । ‘मत कसलाई दिने भन्ने आफ्नो इच्छाको कुरा हो, अहिलेसम्म अलिअलि मतदाता त आइरहेका छन्,’ चम्पा श्रेष्ठ (३२) ले भनिन्, ‘समय छ, अन्तिममा निर्णय हुन्छ ।’
झापा २ मा २०६४ सालमा माओवादी, २०७० मा कांग्रेस, २०७४ र २०७९ सालमा एमाले उम्मेदवारले जित हाासिल गरेका थिए ।
२०७९ मा एमालेले सबैभन्दा धेरै २६ हजार ४ सय ९० समानुपातिक मत पाएको थियो भने दोस्रोमा रास्वपाले २२ हजार ५ सय १७ पाएको थियो ।
कांग्रेस, राप्रपा र माओवादीले क्रमशः १५ हजार ४ सय ९८, ७ हजार ८ सय ८० र ३ हजार ८ सय ६९ समानुपातिक मत पाएका थिए ।
तस्बिरहरु : पर्वत पोर्तेल/कान्तिपुर
