पाँचथर प्रशासनले कर्मचारीलाई भन्यो - समाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्नू

प्रशासन कार्यालयले निर्वाचनमा दिइएको जिम्मेवारीका सम्बन्धमा कर्मचारीवर्गबाटै सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेको भन्दै यसो नगर्न आग्रह गरेको हो ।

फाल्गुन १२, २०८२

लक्ष्मी गौतम

Panchthar administration tells employees not to make inappropriate comments on social media

पाँचथर — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन खटाइएका कर्मचारी र तिनको जिम्मेवारी सम्बन्धमा जथाभावी टिप्पणी नगर्न जिल्लास्थित सबै निकायमा कार्यरत कर्मचारीसमक्ष जिल्ला प्रशासन कार्यालय पाँचथरले आग्रह गरेको छ ।

प्रशासन कार्यालयले निर्वाचनमा दिइएको जिम्मेवारीका सम्बन्धमा कर्मचारीवर्गबाटै सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेको भन्दै यसो नगर्न आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सरकारी कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीहरुले पद तथा श्रेणी नमिलेको, खटनपटन सन्तुलित नभएको जस्ता गुनासा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु अनुशासनविपरीत भएको उल्लेख छ ।

यस्ता विषयमा असहमति वा गुनासा भए सम्बन्धित निकायमा लिखित वा मौखिक रुपमा जानकारी गराउन पनि प्रशासनले आग्रह गरेको हो । निर्वाचनको सन्दर्भमा साना–तिना त्रुटि हुन सक्ने भए पनि त्यसलाई अतिरञ्जित गरी सार्वजनिक मञ्चमा पोस्ट, सेयर, लाइक वा कमेन्ट गर्नु निर्वाचन सम्पन्न गर्ने प्रक्रियामा अवरोध पुर्‍याउने कार्य हुने उल्लेख छ । 

आचारसंहिताविपरीत गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । निर्वाचन आचारसंहिता २०८२ लाई उद्धृत गर्दै निर्वाचन आयोग नेपालबाट जारी निर्देशिका पालना गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको छ ।

जिल्ला प्रशासनले निर्वाचन निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ । साथै, सामाजिक सञ्जालको दुरुपयोग नगर्न र पदीय आचरण तथा अनुशासन कायम राख्न विशेष आग्रह गरिएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully