उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले आफ्नो नेतृत्वमा ऊर्जा क्षेत्रमा देखिएको सुधारलाई उदाहरण दिँदै नेपाल विद्युत् प्राधिकरणलाई घाटाबाट नाफामा पुर्याएर भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्न सफल भएको स्मरण गराए।
What you should know
धरान — उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले देश अहिले ‘राजनीतिक लोडसेडिङ’ र अँध्यारोको अवस्थामा रहेको बताएका छन् ।
धरान उपमहानगरपालिकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देशको विविध लोडसेडिङलाई अन्त्य गर्न र हरेक जनताको मुहारमा उज्यालो ल्याउन र देशलाई समृद्धि तथा आर्थिक रूपान्तरणतर्फ अघि बढाउन उज्यालो नेपाल पार्टीको स्थापना भएको उनले बताए।
‘हाम्रो पार्टी तीन महिनामा दर्ता भएर बीचमा केही समय अलमल भए पनि हामी फेरि उठेर सशक्त रूपमा अघि आएको छौं,' उनले भने, 'उज्यालो नेपाल पार्टीले देशमा बत्ती ल्याएर आएको छ। यो बत्ती अब कहिल्यै निभ्ने छेैन र निभ्न नदिन तपाईंहरूले साथ दिनु आवश्यक छ।’
घिसिङले आफ्नो नेतृत्वमा ऊर्जा क्षेत्रमा देखिएको सुधारलाई उदाहरण दिँदै विगतमा लोडसेडिङ हटाएको, विद्युत् वितरण विस्तार गरेको, व्यवस्थापन सुधार गरेको र नेपाल विद्युत् प्राधिकरणलाई घाटाबाट नाफामा पुर्याएर भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्न सफल भएको स्मरण गराए। उनले भने, ‘देशमा केवल विद्युत् होइन, सम्पूर्ण प्रणालीमै लोडसेडिङ छ। त्यो अँध्यारोलाई हटाउन र जीवन उज्यालो बनाउन उज्यालो नेपाल पार्टी मात्र सक्षम छ।’
उनले स्वास्थ्य, शिक्षा, सिँचाइ, उद्योग र स्थानीय आर्थिक विकासमा परिणाममुखी लगानी आवश्यक रहेको औंल्याए। चिलिमे हाइड्रोपावरमार्फत स्थानीयलाई सेयर वितरण र रोजगारी सिर्जना गरिएको उदाहरण प्रस्तुत गर्दै आर्थिक रूपान्तरणको आधार तयार भइसकेको बताए।
घिसिङले विकास आयोजनामा प्राथमिकता निर्धारणको कमीलाई पनि औंल्याएका छन् । झापाको कन्काई पुल लामो समयसम्म निर्माण हुन नसकेको तर कम प्राथमिकताका संरचना छिटो बनेको उदाहरण दिँदै उनले स्पष्ट र व्यवस्थित लगानी नीति नभएको अवस्थालाई गलत ठहर गरे। ‘सही योजना र दृढ नेतृत्वबिना देशमा विकास सम्भव छैन,’ उनले थपे।
उज्यालो नेपाल पार्टीको एजेण्डा मुख्यत: गरिब, सुकुम्बासी, स्वास्थ्य, शिक्षा र उद्योग सुधारमा केन्द्रित रहेको उल्लेख गर्दै घिसिङले सुनसरी–१ का उम्मेदवार डम्बर लावती (जेन्टल) लाई जिताएर मात्र पार्टीलाई नयाँ शक्ति र वैकल्पिक विकल्प बनाउन सकिने बताए।
