दुर्घटनामा घाइते भएका १५ जनामध्ये ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक राजन चापागाईँले बताए ।
उदयपुर — मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
सोमबार मध्याह्न १२ बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस मोडमा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका १५ जनामध्ये ४ जना गम्भीर र ११ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक राजन चापागाईँले बताए ।
उनका अनुसार घाइतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । बस चालक भने सामान्य रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मदन भण्डारी लोकमार्गस्थित अँधेरी खण्ड अत्यधिक दुर्घटना हुने स्थानमा पर्दछ । दुर्घटना न्यूनीकरण गर्न होडिङ बोर्ड, थर्मोप्लास्टिक राख्ने लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएपनि प्रभावकारी नदेखिएको स्थानीयको भनाइ छ ।
