मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार सूचना जारी गर्दै मतदान केन्द्रहरुमा खटाउने कर्मचारी टुंगो लगाइएको हो । जिल्लामा रहेका १६६ मतदान केन्द्र र दुइटा अस्थायी मतदान केन्द्रमा उक्त संख्यामा कर्मचारी परिचालन हुने भएका हुन् ।
What you should know
धनकुटा — मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ९ सय ९९ जना कर्मचारी परिचालन गर्ने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार सूचना जारी गर्दै मतदान केन्द्रहरुमा खटाउने कर्मचारी टुंगो लगाइएको हो । जिल्लामा रहेका १६६ मतदान केन्द्र र दुइटा अस्थायी मतदान केन्द्रमा उक्त संख्यामा कर्मचारी परिचालन हुने भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले अधिकांश मतदान केन्द्रमा ६ जनाका दरले र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी परिचालन गरिएको जनाएका छन् । तर, तीन सयभन्दा कम मतदाता संख्या भएका केन्द्रमा २ जना मात्र सहायक कर्मचारी राखिएको छ ।
प्रत्येक मतदान केन्द्रमा एक/एक जना मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीसहित एक जना कार्यालय सहयोगी परिचालन हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।
यस्तै अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित तीन जनाका दरले खटाइएको श्रेष्ठले बताए । मतदान केन्द्रमा खटिएका कर्मचारीले ५ सयभन्दा कम मतदाता रहेको केन्द्रमा दुई जना र सो भन्दा बढी मतदाता रहेको केन्द्रमा तीन जना स्वयंसेवक नियुक्त गर्ने छन् । अस्थायी मतदान केन्द्रमा भने स्वयंमसेवक नियुक्त हुने छैन । निर्वाचनमा खटिने कर्मचारीका लागि यसैसाता तालिमको आयोजना गर्ने तयारी रहेको बताइएको छ । निर्वाचनमा खटिएका कर्मचारीलाई भौगोलिक रुपमा दुर्गम र दूरीका हिसाबले सेवा सुविधा प्रदान गरिनेछ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा १ लाख १८ हजार ४ सय २५ जना मतदाता छन् । जसमा महिला मतदाता ५८ हजार ९ सय ४२ जना र पुरूष मतदाता ५९ हजार ४ सय ८३ जना छन् ।
