साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर राईका अनुसार ३ करोड १५ लाख ३६ हजार क्षति भएको छ ।
खोटाङ — साकेला गाउँपालिका-४ मानेभन्ज्याङस्थित सामुदायिक भवनमा आगलागी भएको छ । बुधबार बिहान करिब साढे ६ बजेतिर आगजनी भएको हो ।
साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर राईका अनुसार ३ करोड १५ लाख ३६ हजार क्षति भएको छ ।
गाउँपालिकाको करिब ४ करोडको लगानीमा निर्माणाधीन अवस्थामै आगजनी भएको राईले सुनाएका छन् । ‘आज बिहान साढे ६ बजेतिर आगलागी हुँ दा ठूलो क्षति भएको छ,’ राईले भने, ‘गाउँपालिकाको करिब ४ करोडको लगानीमा निर्माणाधीन सामुदायिक भवनमा आगलागी हुँदा ३ करोड १५ लाख ३६ हजारबराबरको क्षति भएको मुचुल्का उठेको छ ।’
उक्त भवन निर्माणाधीन अवस्थामै रहे पनि आवासका रूपमा उपयोग हुँदै आएको थियो । तीन तलासम्म ढलान सकिएको उक्त भवनमा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, लेखापाल उत्तम आचार्य र सूचना अधिकारी डीएम चाम्लिङको आवास रहेको सूचना अधिकारी चाम्लिङले बताएका छन् ।
स्थानीय, कर्मचारी र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रमुख प्रशासकीय राईले सुनाएका छन् । आगजनीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी राजु विष्टले बताएका छन् ।
