झापा-५ का लागि नेकपा उम्मेदवार तामाङको 'भिजन पेपर' सार्वजनिक 

दमकमा आइतबार आयोजित पत्रकार सम्मेलनमा तामाङले आफ्नो २१ लक्ष्य र १७० गौरवका आयोजनासहितको 'भिजन पेपर' सार्वजनिक गरेका हुन् ।

फाल्गुन ३, २०८२

कान्तिपुर संवाददाता

NCP candidate Tamang's 'vision paper' for Jhapa-5 made public

What you should know

दमक — झापा-५ का लागि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले ७ मिसन र ३५ भिजनसहितको चुनावी 'भिजन पेपर' सार्वजनिक गरेका छन् । परम्परागत रुपमा घोषणापत्र भनिने प्रतिबद्धता पत्रलाई उनले 'भिजन पेपर ' भनेका छन् । 

दमकमा आइतबार आयोजित पत्रकार सम्मेलनमा तामाङले आफ्नो २१ लक्ष्य र १७० गौरवका आयोजनासहितको 'भिजन पेपर' सार्वजनिक गरेका हुन् । उनले सात मिसनमध्ये पहिलोमा शिक्षा, दोस्रोमा स्वास्थ्य, तेस्रोमा कृषि, उद्योग, व्यवसाय, चौथोमा भौतिक पूर्वाधार समेटेका छन् । त्यस्तै उनको पाँचौं मिसनमा रोजगारी, छैटौं मिसनमा सुशासन र सार्वजनिक सेवा प्रवाह र सातौं मिसनमा सामाजिक समावेशीकरण, संस्कृति र वातावरणलाई अघि सारेका छन् ।

भिजन पेपरमा तामाङले गुणस्तरीय र प्राविधिक शिक्षा : समग्र शिक्षाको समीक्षा, पहुँचयोग्य र भरपर्दो उपचार : नागरिकको मौलिक अधिकार,  आवश्यक र अत्याधुनिक पूर्वाधार : नमूना क्षेत्रको विकासको आधारजस्ता नारा दिएका छन् । यसैगरी भिजन पेपरमा तामाङले भ्रष्टाचारमुक्त प्रशासन : इमान्दार नेतृत्व र सुशासन, नेपाली जाति : समृद्धिको साथी, युवालाई काम : क्षेत्रको पहिचान, कृषि र बजार : उद्योगको आधार लगायतका नाराअन्तर्गत विभिन्न आयोजना र कार्यक्रम अघि सारेका छन् ।

भिजन पेपरमा भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने, अधुरो रवि-चिसापनी सडक पूरा गर्ने, आदिवासी जनजाति स्मृति रंगशाला पूरा गर्ने, औद्योगिक कोरिडोर अघि बढाउने लगायतका १७० गौरवका आयोजना अघि सारिएको मस्यौदा समितिका संयोजक रमेश गुरागाईंले जानकारी दिए ।

भिजन पेपरमा तामाङले नवयुवाहरुको चाहना र भावनाको प्रतिनिधित्व गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञ सम्मिलित मन्त्रिमण्डलको  एजेन्डा अघि सारेका छन् । उनले गैरदलीय स्थानीय तहको पक्षमा आफूलाई उभ्याएका छन् । 

तामाङद्वारा अघि सारिएको भिजन पेपर यस क्षेत्रको समग्र विकास र निकासको मार्गचित्र भएको निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतले बताए । उनका अनुसार नेकपाले भिजन पेपर निर्माण गर्नुअघि सबै क्षेत्र र संस्थाका प्रतिनिधिहरुको सुझाव लिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully