मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण दिएर वडास्तरसम्म परिचालन गर्ने तथा उनीहरूको अनुगमन गर्ने जिम्मेवारी अनुगमनकर्तालाई दिइएको हो।
संखुवासभा — जिल्ला निर्वाचन कार्यालय संखुवासभाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै १० वटै स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिलाई निर्वाचन अनुगमनकर्ता तोकेर मंगलबारबाट तालिम सुरु गरेको छ।
मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण दिएर वडास्तरसम्म परिचालन गर्ने तथा उनीहरूको अनुगमन गर्ने जिम्मेवारी अनुगमनकर्तालाई दिइएको हो।
जिल्लाका ७६ वटा वडामा ७६ जना मतदाता शिक्षा स्वयमसेवक परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी सन्तोष राईले जानकारी दिए। उनका अनुसार फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्दै निष्पक्ष रूपमा मतदाता शिक्षा दिन स्वयमसेवकलाई आग्रह गरिन्। उनले मत बदर हुन नदिन जनचेतना फैलाउन स्वयमसेवकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन्।
त्यसैगरी मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले दलप्रति कुनै पनि पूर्वाग्रह नराखी निष्पक्ष र जिम्मेवार ढंगले काम गर्न निर्देशन दिए।
उनले मतदाता शिक्षा कुनै पार्टी विशेषका लागि नभई लोकतन्त्र सुदृढ गर्नका लागि भएको उल्लेख गर्दै तल्लो तहसम्म प्रभावकारी रूपमा पुयाउनुपर्नेमा जोड दिए। कुनै दलप्रति आवद्धता देखिएमा सम्बन्धित कर्मचारी कारबाहीको भागेदार हुने चेतावनीसमेत दिए।
मतदाता सचेतनालाई केन्द्रमा राखिएको यस कार्यक्रमले निष्पक्ष, स्वतन्त्र र प्रभावकारी निर्वाचनमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
