आफन्त प्रकाश खपाङ्गी मगरका अनुसार सिलोङको भालुपारा भन्ने ठाउँमा सोमबार शव अन्त्येष्टि गरिएको हो ।
खोटाङ — भारतको मेघालयस्थित अवैध कोइलाखानीमा विस्फोट गराउने क्रममा आगलागीमा परी ज्यान गुमाउने खोटाङका तीन जनाको शव भारतमै अन्त्येष्टि गरिएको छ ।
गत माघ २२ गते भएको घटनामा ज्यान गुमाउने बाराहपोखरी गाउँपालिका–१ बाराहपोखरीस्थित सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णीराम मगर, उनका भाइ २४ वर्षीय सुरेन्द्र मगर र उक्त वडाकै भन्ज्याङका ३५ वर्षीय नरबहादुर मगरको शव अन्त्येष्टि गरिएको हो ।
आफन्त प्रकाश खपाङ्गी मगरका अनुसार सिलोङको भालुपारा भन्ने ठाउँमा सोमबार शव अन्त्येष्टि गरिएको हो । उक्त घटनामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राई पनि बेपत्ता छन् । उनको मृत्यु भइसकेको भन्दै किरात संस्कार अनुसार आइतबार मुण्डन गरेको आफन्त भोगिन्द्र राईले बताएका छन् । उक्त घटनामा यो सहित २७ जनाको ज्यान गइसकेको छ ।
उक्त घटनामा घाइते भएका नेपालका ४ जनाको सिलोङस्थित निलग्रिन हस्पिटलमा उपचार भइरहेको घटनास्थल पुगेका प्रकाश खपाङ्गी मगरले सुनाएका छन् । उनका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुढेका ४८ वर्षीय दावा शेर्पा, बाराहापाखेरी गाउापालिका–१ का ४० वर्षीय बमबहादुर मगर र ४५ वर्षीय कर्णबहादुर मगर तथा उदयपुर त्रियुगा नगरपालिका साउनेका ललितबहादुर मगरको उपचार भइरहेको छ । उनीहरूको अवस्था सुधारोन्मुख रहेको प्रकाशले सुनाएका छन् । उक्त घटनामा घाइते भएका अन्य ५ जनाको पनि उपचार भइरहेको छ ।
