प्रहरीले सामाजिक सञ्जालमा गलत सूचना, झुटा समाचार तथा अफवाह फैलाउने गतिविधिमा संलग्न भएको पाइएकाले घोषलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
सुनसरी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोस्ट गरेको आरोपमा एमाले सुनसरीका एक युवा नेता पक्राउ परेका छन् ।
पक्राउ पर्ने इनरुवा निवासी विप्लव घोष रहेको र उनी एमाले सुनसरीका युवा नेता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार घोषले सामाजिक सञ्जालमार्फत सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवारलाई लक्षित गरी भ्रामक भिडियो पोस्ट गरेका थिए ।
प्रहरीले सामाजिक सञ्जालमा गलत सूचना, झुटा समाचार तथा अफवाह फैलाउने गतिविधिमा संलग्न भएको पाइएकाले घोषलाई नियन्त्रणमा लिइएको जनाएको छ । साथै, यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सामाजिक सञ्जाल तथा विभिन्न पेजहरूलाई विशेष निगरानीमा राखिएको जानकारी दिँदै गलत सूचना र भ्रामक सामग्रीको प्रकाशन तथा प्रसारण नगर्न सबैमा अनुरोध गरेको छ ।
यसअघि रास्वपा सुनसरीले विज्ञप्ति जारी गर्दै घोषमाथि कारबाहीको माग गरेको थियो । उक्त विज्ञप्तिपछि घोषले सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेका थिए । तर पछि उनले क्षमायाचनासम्बन्धी पोस्ट हटाउँदै ‘हाइकमाण्डको सल्लाह बमोजिम’ पोस्ट डिलिट गरेको उल्लेख गर्दै आफ्ना कुरा थपेर पुनः स्ट्याटस लेखेका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
