‘घर’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका करुवाले घिमिरेको राजनीतिक एजेन्डा र भिजनसँग आफ्नो सहमति रहेको भन्दै समर्थन जनाएका हुन् ।
झापा — झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाल जनमुक्ति पार्टीका खान्द्रु करुवाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अशेष घिमिरेलाई समर्थन गर्ने घोषणा गरेका छन्।
‘घर’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका करुवाले घिमिरेको राजनीतिक एजेन्डा र भिजनसँग आफ्नो सहमति रहेको भन्दै समर्थन जनाएका हुन् ।
दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा उनीबाहेक १४ जना चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा एमालेका रामचन्द्र उप्रेती र कांग्रेसका केशवराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका निशा डाँगी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हेमराज कार्की, श्रम संस्कृति पार्टीका केवलराम राई, राष्ट्रिय सद्भावना पार्टीका ओलिन राजवंशी, उज्यालो नेपालका नरेशकुमार लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चवाट मानवहादुर साँवा, जसपा नेपालबाट रमा मेचे, मंगोल नेशनल अर्गनाइजेसनबाट सन्तोष तामाङ, नेपाल मजदुर किसान पार्टीबाट हिरण्य भट्टराई पनि चुनावी अभियानमा आक्रामक रूपले लागेका छन् ।
ठूला दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको झापा–१ मा साना दल र स्वतन्त्र उम्मेदवारहरूको भूमिका निर्णायक मानिन्छ ।
