स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलका अनुसार फुडपोइजनका कारण उनीहरू बिरामी परेका हुन् ।
खोटाङ — जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा बिहेको भोज खाँदा करिब एक सय बढी बिरामी परेका छन् । गत माघ २१ गते बिहेको भोज खाँदा २२ गतेदेखि बिरामी परेका हुन् ।
स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलका अनुसार फुडपोइजनका कारण उनीहरू बिरामी परेका हुन् । ‘उहाँहरूलाई फुडपोइजन देखिएको छ’–पौडेलले भने–‘उपचार जारी छ ।’
उनीहरूलाई शनिबारसम्म विभिन्न तीन ठाउँमा राखेर उपचार गरिएको र बिरामी घट्न थालेपछि आइतबार बिहानैदेखि उक्त वडाको निगालबास भन्ज्याङमा राखेर उपचार गरिरहेको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताएका छन् ।
ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको छ । उनीहरूलाई भोज खाएको १२ घण्टापछि उक्त लक्षण देखिएको हो । बेहुला–बेहुली सहित बिरामी परेका हुन् ।
बिरामीको उपचारमा गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली खटिएका छन् । बिरामीको संख्या बढेपछि स्वास्थ्य कार्यालयको जनशक्ति बोलाएर उपचार भइरहेको खड्काले सुनाए ।
उक्त बिहेको भोज खाएका स्थानीय सहित उदयपुर, काठमाडौं लगायतका पाहुनासमेत बिरामी परेको खड्काले जनाए ।
