धनकुटा आयुर्वेद स्वास्थ्य केन्द्रबाट एकै वर्ष २३ हजारले लिए सेवा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा एक वर्षको अवधिमा २३ हजार ६ सय ७० जनाले विभिन्न सेवा लिएको डा. विद्या श्रेष्ठले जानकारी दिइन् ।

माघ २४, २०८२

रमेशचन्द्र अधिकारी

23,000 people received services from Dhankuta Ayurveda Health Center in one year

What you should know

धनकुटा — ९६ वर्ष पहिले स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा एक वर्षको अवधिमा २३ हजार बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा एक वर्षको अवधिमा २३ हजार ६ सय ७० जनाले विभिन्न सेवा लिएको केन्द्री डा. विद्या श्रेष्ठले जानकारी दिइन् । ओपिडी सेवा अन्तर्गत सबैभन्दा बढी पेट सम्बन्धी बिरामीले उपचार लिएको उनले बताइन् । यस्तै, हाडजोर्नी तथा नशा, मानसिक रोग, छाला, जन्डिस, मधुमेह, उच्च रक्तचाप, मोटोपना, पत्थरीलगायतको उपचार गरिएको छ । 

विसं १९८६ मा स्थापना भएको आयुर्वेद औषधालय र पुनः कोशी अञ्चल आयुर्वेद औषधालयपछि पछिल्लो समय नाम परिमार्जन हुँदै हाल आयुर्वेद स्वास्थ्य केन्द्रमा रुपान्तरित भएको छ ।  आयुर्वेद केन्द्रमा रहेको प्रयोगशालामा विभिन्न अत्याधुनिक उपकरणको माध्यमबाट रगत, दिसा, पिसाबलगायतको जाँच गरिँदै आएको केन्द्रले जनाएको छ । 

जसमा २ सय ५० जनाले योग अभ्यास, २ सय ६० जनाले चिकित्सक शिविर, ३ हजार १ सय २३ जनाले ओपिडी सेवा, २ हजार ५ सय २ ले पूर्वकर्म सेवा लिएका छन् । यस्तै, ८२ ले पञ्चकर्म सेवा, ५ सय २६ जनाले उपक्रम सेवा, १ सय १ जनाले जेष्ठ नागरिक सेवा, १ हजार १३ जनाले योग सेवा, ५ सय १२ जनाले प्याथोलोजी सेवा र १४ हजार ५ सय ६० जनाले नागरिक आरोग्य सेवा लिएको जनाइएको छ ।

डा. श्रेष्ठका अनुसार केन्द्रले विभिन्न २३ वटा रोगको निःशुल्क औषधि समेत वितरण गर्दै आएको छ । यसैगरी आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटा अन्तर्गत सञ्चालन भइरहेको सहिदभूमि गाउँपालिका छिन्ताङ, आयुर्वेद औषधालय पाख्रिबास, नागरिक आरोग्य सेवा केन्द्र महालक्ष्मी नगरपालिका आरोग्य सेवा केन्द्र, चैविसे गाउँपालिकामा आरोग्य सेवा केन्द्रहरु माफर्त पनि सेवा सञ्चालन भइरहेको श्रेष्ठको भनाई छ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully