फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका खोपको मात्रा पूरा गरेसँगै यो नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

माघ २३, २०८२

लक्ष्मी गौतम

Phidim Municipality declares full vaccination guaranteed

पाँचथर — पाँचथरको फिदिम नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।

जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका खोपको मात्रा पूरा गरेसँगै यो नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

फिदिम नगरपालिकामा १२ हजार ३ सय ३६ घरधुरी रहेको फिदिम नगरपालिकाको जनसंख्या ४७ हजार ८ सय १० छ । जहाँ ११ महिनामूनिका बालबालिका ४ सय ७, १२ देखि १५ महिनाभित्रका १ सय ५५, १६ देखि २३ महिनाका ३ सय ७३ र २४ देखि ५९ महिनाभित्रका बालबालिकाको जनसंख्या १ हजार ६ सय १ हजार ६ सय १७  छ ।

जसमध्ये जन्मदेखि १५ महिनाभित्रका बालबालिकालाई नियमित खोपमा सहभागी गराउनुका साथै १६ देखि ५९ महिनाभित्रका १ हजार ९ सय ९० जनालाई खोपको मात्रा पूरा गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको मेयर मित्रप्रसाद काफ्लेले बताए।

नगरपालिकामा आयोजित एक समारोहमा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव महेश सुनारले मेयर काफ्ले उपमेयर राधाकृष्ण न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद भट्टराईलाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र प्रदान गरे ।

पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा अभियान महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ९ नम्वर वडा कार्यालय, स्वास्थ्य चौकी रानीटार र फिदिम १२ की स्वास्थ्य चौकी इन्चार्ज रमा पाण्डेलाई कदर पत्र वितरण गरिएको थियो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully