राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तर–दक्षिण (कोशी) लोकमार्ग त्रिदेशीय राजमार्गको रूपमा विकास भइरहेको छ।
संखुवासभा — राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्तको नेतृत्वमा रहेको टोलीले खाँदबारीको लभिङ हिलदेखि किमाथांकासम्मको उत्तर–दक्षिण (कोशी) लोकमार्ग स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तर–दक्षिण (कोशी) लोकमार्ग त्रिदेशीय राजमार्गको रूपमा विकास भइरहेको छ। यो राजमार्गले मोरङको रानीदेखि संखुवासभाको किमाथांकासम्म करिब ३ सय ४५ किलोमिटर दूरी जोड्छ। यस अन्तर्गत संखुवासभा खण्डमा पर्ने खाँदबारी लभिङहिलदेखि किमाथांकासम्मको सडक १ सय ६२ किलोमिटर लामो रहेको छ।
स्थलगत अनुगमनका क्रममा सचिव पन्तले किमाथांकासम्मको यातायात कनेक्टिभिटी नै आयोजनाको मुख्य चुनौती रहेको बताएका छन्। खाँदबारीदेखि नुमसम्मको सडक कालोपत्रेको तयारी भइरहेको र हालसम्मको काम सन्तोषजनक रहे पनि तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
'बरुणदेखि हटियासम्मको सडक खण्ड जीर्ण अवस्थामा रहेको पाइयो,' उनले भने, 'धेरै घुम्तीहरूका कारण यातायात आवागमनमा समस्या उत्पन्न भएको छ ।' भोटखोला क्षेत्रका बासिन्दाले कष्टकर जीवनशैली निर्वाह गर्नुपरेको अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे ।
नेपाली सेनाले निर्माण गरिरहेको च्याम्ताङ–घोङघप्पा सडक खण्डको प्रगति तथा माइलस्टोन विवरणसमेत बुझ्दै उत्तर–दक्षिण (कोशी) सडक योजना यातायात कनेक्टिभिटीको दृष्टिले प्रथम प्राथमिकतामा रहेकाले खाँदबारीदेखि किमाथांकासम्म देखिएका समस्या र चुनौती समाधानका लागि योजना आयोगबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।
अनुगमन टोलीमा योजना आयोगका सहसचिवद्वय लोकराज न्यौपाने र विशाल भण्डारी, कार्यक्रम निर्देशक राजेश बाबु घिमिरे, अर्थ मन्त्रालयका सहसचिव टंकनाथ लम्साल, सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका निर्देशक विनोद कुमार मौवार, उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका उपनिर्देशक विनोद भट्टराई तथा उत्तर–दक्षिण (कोशी) सडक योजनाका योजना प्रमुख रामबहादुर गुरुङ सहभागी थिए। स्थलगत निरीक्षण सम्पन्न गरी टोली बिहीबार राजधानी फर्किएको छ।
