भारतको मेघालयमा कोइलाखानी विस्फोट हुँदा खोटाङका एउटै घरका दाजुभाइको मृत्यु

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने ७ जनाको टोलीमध्ये बाराहपोखरीस्थित वालम्पाका ताराबल मगर मात्र सकुशल छन् ।

माघ २३, २०८२

डम्बरसिं राई

Brothers from the same house in Khotang die in coal mine explosion in Meghalaya, India

खोटाङ — भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परी खोटाङ बाराहपोखरी गाउँपालिका-१ का एउटै घरका दाजुभाइको मृत्यु भएको छ । 

मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परी बाराहपोखरी गाउँपालिका–१ बाराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

वडाअध्यक्ष ढकबहादुर कार्कीका अनुसार उक्त घटनामा बाराहपोखरीस्थित भञ्ज्याङका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर, ४५ वर्षीय बमबहादुर खपाङ्गी मगर र ४० वर्षीय कर्णबहादुर खपाङ्गी मगर घाइते भएका छन् । 

उनीहरूमध्ये नरबहादुर र बमबहादुर गम्भीर रहेको समेत कार्कीले सुनाए । उक्त घटनामा उदयपुर साउनेका ललितबहादुर मगर पनि घाइते भएका छन् ।

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने ७ जनाको टोलीमध्ये बाराहपोखरीस्थित वालम्पाका ताराबल मगर मात्र सकुशल छन् । विस्फोटपछि ताराबलले नै फोनमार्फत आफन्तलाई घटनाका बारेमा जानकारी गराएका हुन् । 

दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएको आफन्तले जनाएका छन् । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully