संखुवासभामा ट्याक्टर दुर्घटना, एक कामदारको मृत्यु

चिचिलाबाट नुमतर्फ जाँदै गरेको उक्त ट्याक्टरमा सवार रहेका तामाङ अचानक चलिरहेको ट्याक्टरबाट सडकमा खस्दा पछाडिको चक्काले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ।

माघ २२, २०८२

दीपेन्द्र शाक्य

Tractor accident in Sankhuwasabha, one worker dies

संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका-५ मुढेस्थित उत्तर–दक्षिण कोशी राजमार्गमा बुधबार राति करिब ९ बजे भएको सवारी दुर्घटनामा एक कामदारको घटनास्थलमै मृत्यु भएको छ। 

सिन्धुली हरिहरपुरगढी गाउँपालिका-६ स्थायी घर भएका नेमलाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी नुमबाट प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठको कमान्डमा खटिएको टोलीले घटनास्थल सुरक्षित राखी सवारी साधनको पहिचान तथा खोजतलास सुरु गरेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा अर्को टोली समेत परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा मृतक नेमलाल तामाङ निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत वसन्तपुर निर्माण सेवा प्रालिमार्फत सञ्चालनमा रहेको ना ५ त ७०८१ नम्बरको ट्याक्टरमा लेबरका रूपमा कार्यरत रहेको खुलेको डीएसपी कुमारप्रसाद मैनालीले बताए । 

चिचिलाबाट नुमतर्फ जाँदै गरेको उक्त ट्याक्टरमा सवार रहेका तामाङ अचानक चलिरहेको ट्याक्टरबाट सडकमा खस्दा पछाडिको चक्काले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर मकालु गाउँपालिका ५ नुममा पार्किङ अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको छ। ट्याक्टर चालक फरार रहेकाले पहिचान तथा खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा खाँदबारी पठाइएको छ।  

दीपेन्द्र शाक्य

Link copied successfully