४५ वर्षीय लाक्पा ओङ्दी शेर्पाले ७४ वर्षीय निङमा शेर्पालाई धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएको प्रहरी नायव उपरिक्षक कुमारप्रसाद मैनालीले बताए ।
संखुवासभा — जिल्लाको पाँचखपन नगरपालिका–८ मा धारिलो हतियार प्रहार हुँदा एक वृद्ध घाइते भएका छन्। आफ्नै घरमा बसिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको हो।
प्रहरीका अनुसार संखुवासभा चैनपुर नगरपालिका–२ पोखरीका हाल पाँचखपन नगरपालिका–८ मा बस्दै आएका ४५ वर्षीय लाक्पा ओङदी शेर्पाले ७४ वर्षीय निङमा शेर्पालाई धारिलो हतियार (बाम्फोक) प्रयोग गरी आक्रमण गरी घाइते बनाई फरार भएको प्रहरी नायव उपरिक्षक कुमारप्रसाद मैनालीले बताए ।
अस्थायी प्रहरी पोस्ट भर्तिवाल डाँडाबाट प्रहरी हवल्दार रमेश सुवेदी र इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी निरीक्षक सुन्दरकुमार यादवको कमाण्डमा ५ जनाको प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीहरू समेत आरोपीको खोजतलासमा परिचालन गरिएको छ।
घाइते निङमा शेर्पालाई उपचारका लागि आधारभूत अस्पताल वानातर्फ पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचार विवरण अनुसार घाइतेको गाला र नाकमा चोट लागेको छ । घटनास्थल अस्थायी प्रहरी पोस्ट भर्तिवाल डाँडाबाट करिब १७ किलोमिटर पूर्वमा पर्छ।
