हिसान कप क्रिकेटमा नमुना कलेजको विजयी सुरुवात

जनता क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले निर्धारित १५ ओभरको खेलमा ७ विकेट गुमाउँदै ९४ रन बनाएको हो।

माघ १९, २०८२

अर्जुन सुवेदी

Model College makes winning start in Hisan Cup cricket

What you should know

सुनसरी — नमुना कलेजले इटहरीमा सोमबारदेखि सुरु भएको हिसान कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा सोमबार भएको उद्घाटन खेलमा नमुना विश्वआदर्श कलेजलाई ४ रनले पराजित गरेको छ । जनता क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले निर्धारित १५ ओभरको खेलमा ७ विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।

नमुनाका लागि गुञ्जन दाहालले २७ रन बनाउँदा आदित्य विकले २१ रन जोडे । विश्वआदर्शका आर्यन चौधरीले २ र सन्देश भण्डारीले १ विकेट लिए । जवाफमा ९५ रनको विजयी लक्ष्य पछ्याएको विश्वआदर्शले ७ विकेटको क्षतिमा ९० रन मात्र बनाउन सक्यो । उसका लागि पल सिग्देलले १७ र सकुशल श्रेष्ठले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नमुनाका राजु विक र सुदीप खत्रीले समान २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच आदित्य विक घोषित भए । सोमबार नै सम्पन्न दोस्रो खेलमा इनरुवाको स्मल हेभन स्कुलले इटहरीको पूर्वाञ्चल सेकेण्डरी स्कुललाई ४९ रनले पराजित गरेको छ ।

हिसान सुनसरीको १२ औं स्पोर्ट्स मिट अन्तर्गत हिसान कप क्रिकेटमा सुनसरीका ८ वटा कलेजको सहभागिता रहेको छ । कलेजस्तरीय क्रिकेट प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ ।

सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग भएको प्रतियोगिताले कलेजस्तरीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै क्रिकेटप्रतिको आकर्षण थप्ने विश्वास लिएको छ । 

अर्जुन

Link copied successfully