केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो ।
What you should know
ताप्लेजुङ — पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो ।
विरोध प्रदर्शनलाई किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष तथा पहिचानवादी नेता डकेन्द्र सिं थेगिम, गायिका झुमा लिम्बू, संघर्ष समितिका खगेन्द्र फेम्बु लिम्बूलगायतले सम्बोधन गरेका थिए । उनीहरुले पाथीभरामा केबलकार बन्न नहुने र आफूहरुले कुनै पनि हालतमा बन्न नदिने अडान दोहोर्याएका छन् ।
सदरमुकामको प्रवेशद्वार तोक्मेडाँडाबाट सुरु भएको र्याली दोबाटो, पुरानो कोप्चे, वीरेन्द्रचोक, पुरानो बैंक लाइन हुँदै फेरि तोक्मेडाँडाको फाल्गुनन्द चोकमा आएर कोणसभामा परिणत भएको थियो । तोक्मे क्षेत्रमा विरोध स्वरुप भित्तेलेखन पनि गरिएको छ ।
निर्वाचन आचारसंहिता समेतलाई दृष्टिगत गरी आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरेको संयुक्त संघर्ष समिति अध्यक्ष फेम्बुले बताए । केबलकार खारेजी आफूहरुको एक मात्र माग गरेको उनले दोहोर्याएका छन् ।
आन्दोलनरत समूहले शनिबार यसअघि पाथीभरा क्षेत्रमा भएका झडपका घाइतेलाई सम्मान गर्ने र आइतबार पाथीभरा क्षेत्रमा धागो टाग्ने कार्यक्रम रहेको जनाएका छन् । प्रदर्शनका क्रममा हुन सक्ने गतिविधिलाई दृष्टिगत गरी प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य संख्यामा परिचालन गरेको छ भने सेना समेतको संयुक्त गस्ती सदरमुकाम क्षेत्रमा गराएको छ ।
आन्दोलनको कार्यक्रम गत पुस १८ गते पत्रकार सम्मेलनमार्फत ‘नो केबलबार' घोषणा गरेका थिए । जसअन्तर्गत १२ गते पूर्वी नेपालका विभिन्न जिल्ला र मुख्य सहरमा कोणसभा गरेका थिए ।
१९ गते पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा प्रदर्शन र कोणसभा गर्ने तथा २० गतेदेखि माघ मसान्तसम्म पाथीभरा केबलकार र पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, मुक्कुमलुङ संरक्षणका क्रममा भएको आन्दोलनमा लगाइएका मुद्दा खारेजी लगायतका विषयलाई निर्वाचनको एजेण्डा बनाएर गाउँबस्ती अभियान चलाउने उल्लेख गरिएको छ ।
