निर्वाचन आचारसंहिता अनुगमन गर्न दुई अधिकृत

अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सञ्चारमाध्यमले आचारसंहिता पालना गरे/नगरेको विषयलाई नियमन गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले बताए ।

माघ १४, २०८२

डम्बरसिं राई

Two officers to monitor election code of conduct

What you should know

खोटाङ — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा दुई जना अनुगमन अधिकृत तोकिएको छ । उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे/नगरेको बारे अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो ।

अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सञ्चारमाध्यमले आचारसंहिता पालना गरे/नगरेको विषयलाई नियमन गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले बताए । निर्वाचन सफल बनाउन सबैको उत्तिकै दायित्व हुने भएकाले कोही कसैले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएमा अनुगमन अधिकृतले कारबाही गर्ने मगरले सुनाए । 

अनुगमन अधिकृतले जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेटलगायत लगाए/नलगाएको, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार पोस्टर, भित्तेलेखन, तुल, डिजिटल डिस्प्लेको प्रयोग भए/नभएको विषय अनुगमन गर्ने मगरले बताए । निर्वाचन आचारसंहिताअनुसार सवारी साधनको प्रयोग भए/नभएको, घोषणापत्र सार्वजनिक गरे/नगरेको, निर्वाचन प्रचार प्रसारका लागि सरकारी, सार्वजनिक निकाय, गैर–सरकारी संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग लिए/नलिएको, निर्वाचन खर्चका लागि बैङ्क तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्ने तथा खर्च गर्ने पदाधिकारी तोकी खर्च गर्ने व्यवस्था गरे/नगरेको लगायतका विषयमा अनुगमन गरिने छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोगले गत माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयन गरेको छ । खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully