इटहरीका नगर प्रमुखलाई आरोप प्रमाणित गर्न निजी विद्यालय सञ्चालकको चुनौती

नगर प्रमुख हेमकर्ण पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममा निजी विद्यालय सञ्चालकमाथि आरोप दोहोर्‍याउँदै आएपछि पहिलोपटक संगठित रूपमा हिसान सुनसरीले त्यसको खण्डन गर्दै प्रमाण प्रस्तुत गर्न चुनौती दिएको हो ।

माघ १४, २०८२

अर्जुन सुवेदी

Private school operators challenge Itahari mayor to prove allegations

What you should know

सुनसरी — सुनसरीका निजी विद्यालय सञ्चालकहरूले इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जेनजी आन्दोलनका क्रममा विद्यार्थीलाई आन्दोलनमा पठाएर आगजनी गर्न उक्साएको भन्ने आरोपको कडा शब्दमा खण्डन गरेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले बुधबार इटहरीमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा निजी विद्यालय सञ्चालकहरूले नगर प्रमुख पौडेलका अभिव्यक्ति कपोलकल्पित र आधारहीन भएको दाबी गर्दै त्यसलाई प्रमाणित गर्न चुनौती पनि दिएका छन् ।

नगर प्रमुख पौडेलले भदौ २३ र २४ मा भएको देशव्यापी जेनजी आन्दोलन र प्रदर्शनका क्रममा इटहरीमा मात्र तोडफोड र आगजनी भएको भन्ने आशयको अभिव्यक्ति दिँदै त्यसका लागि निजी विद्यालय सञ्चालकले स्कुल बसमार्फत विद्यार्थी ओसारेर आगो लगाउन उक्साएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । तर विद्यालय सञ्चालकहरूले यस्तो आरोप तथ्यहीन र पूर्वाग्रही भएको बताएका हुन् ।

हिसान सुनसरीका अध्यक्ष तथा केन्द्रीय सदस्य सागर भट्टराईले देशव्यापी आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्ति पनि स्कुल पोसाकमै रहेको विद्यार्थी भएको तथ्य नगर प्रमुखले बिर्सिएको आरोप लगाए । आन्दोलनलाई इटहरीमा मात्र केन्द्रित गरेर निजी विद्यालयलाई दोषारोपण गर्नु अन्यायपूर्ण र पूर्वाग्रही भएको उनले बताए ।

त्यसैगरी हिसानका केन्द्रीय उपाध्यक्ष मुकुन्द घिमिरेले नगर प्रमुख पौडेलले कपोलकल्पित आरोप लगाएर निजी विद्यालय सञ्चालकलाई जबर्जस्ती दोषी करार गर्न खोजेको टिप्पणी गरे । उनले सार्वजनिक कार्यक्रममा पटक–पटक यस्ता आरोप दोहोरिनु दुःखद भएको उल्लेख गर्दै देशव्यापी आन्दोलनलाई इटहरीमा मात्र भएजस्तो देखाएर लगाइएका आरोप प्रमाणित गर्न नगर प्रमुखलाई चुनौती दिए ।

हिसानका केन्द्रीय सचिव बलराम पन्तले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनप्रति सहानुभूति भए पनि तोडफोड र आगजनीमा आफ्ना विद्यार्थीलाई जान नदिइएको स्पष्ट पारे । उनले विद्यालयको नाम जोडेर गरिएको आरोपले शैक्षिक क्षेत्रलाई बदनाम गर्ने काम गरेको बताए ।

नगर प्रमुख पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममा निजी विद्यालय सञ्चालकमाथि आरोप दोहोर्‍याउँदै आएपछि पहिलोपटक संगठित रूपमा हिसान सुनसरीले त्यसको खण्डन गर्दै प्रमाण प्रस्तुत गर्न चुनौती दिएको हो । निजी विद्यालय सञ्चालकहरूले निराधार आरोप तत्काल बन्द गर्न र जिम्मेवार अभिव्यक्ति दिन नगर प्रमुखसँग आग्रह पनि गरेका छन् ।

अर्जुन सुवेदी

Link copied successfully