रैथाने उत्पादनलाई बजारसम्म पुर्याउने दीर्घयोजनाअन्तर्गत गाउँघरमै पाइने खाद्य परिकारलाई सहरका रेस्टुराँ र उच्च स्तरका होटलसम्म परिचित गराउनु महोत्सवको अर्को उद्देश्य भएको आयोजकको भनाइ छ ।
विराटनगर — स्थानीय स्वाद, परम्परा र कला–संस्कृतिलाई एउटै थलोमा पस्किने उद्देश्यसहित बिहीबारदेखि तीनदिने ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव–२०८२’ आयोजना हुने भएको छ । नन्दा करिडोर प्रवर्द्धन केन्द्रको आयोजनामा महोत्सवको दोस्रो संस्करण हुन लागेको हो ।
आयोजकका अनुसार यस वर्षको संस्करणलाई ‘एथ्निक फुड–कल्चर सोकेस’का रूपमा अघि बढाइनेछ ।
सामुदायिक पहिचान झल्किने परिकार, नृत्य, रीतिरिवाज र कलालाई प्रमुख केन्द्र बनाइने महोत्सवमा प्राचीन वस्तु र चित्रकला प्रदर्शनी, रैथाने खानाको महत्त्वबारे प्यानल छलफल, खाना पाक प्रतियोगिता, विभिन्न जातजातिको संस्कृतिक झाँकी तथा खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गरिने कार्यक्रम अध्यक्ष धर्मेन्द्र खड्काले जानकारी दिए ।
रैथाने उत्पादनलाई बजारसम्म पुर्याउने दीर्घयोजनाअन्तर्गत गाउँघरमै पाइने खाद्य परिकारलाई सहरका रेस्टुराँ र उच्च स्तरका होटलसम्म परिचित गराउनु महोत्सवको अर्को उद्देश्य भएको आयोजकको भनाइ छ ।
महोत्सवमा १० वटा स्टल रहने छन् । तीमध्ये चार स्टल विविध जातजातिका रैथाने खानामा केन्द्रित रहनेछन् । कोदोको केक, ब्रेड, सुप, ढिँडोदेखि टमाटरको अचार र फापरका पकौडाजस्ता परिकार स्टलमा विशेष आकर्षण हुनेछन् । मेचीनगरमा मेचे, धिमाल, मुण्डा, मालपाँडे, उराउ, सन्थाल, किसान लगायतका अल्पसंख्यक आदिवासीको बसोवास छ ।
