आङ खसेका महिलाको निःशुल्क उपचार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यका अनुसार गत मंसिर र पुस महिनामा विभिन्न ठाउँमा सञ्चालन गरिएको शिविरमा स्क्रिनिङ गरिएका ३४ मध्ये २८ जनाको उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्‍याएर उपचार सुरु गरिएको छ ।

माघ १४, २०८२

डम्बरसिं राई

Free treatment for women with hair loss

What you should know

खोटाङ — दुई स्थानीय तहले आङ खसेका महिलाहरूको निःशुल्क उपचार गराएका छन् । बनेपास्थित शिर मेमोरियल अस्पतालको सहकार्यमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले २८ जना र हलेसी तुवाचुङ नगरपालिकाले १५ जनाको उपचार गरेका हुन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यका अनुसार गत मंसिर र पुस महिनामा विभिन्न ठाउँमा सञ्चालन गरिएको शिविरमा स्क्रिनिङ गरिएका ३४ मध्ये २८ जनाको उपचारका लागि  शिर मेमोरियल अस्पताल पुर्‍याएर उपचार सुरु गरिएको छ । 

गत शुक्रबार अस्पताल पुगेका १८ जनामध्ये आइतबार र सोमबार १२ जनाको शल्यक्रिया गरिएको छ । अन्य ६ जनाको प्रेसर, सुगर र थाइराइट देखिएकाले केही समयपछि शल्यक्रिया गरिने आचार्यले बताए । थप १० जना पनि मंगलबार अस्पताल पुर्‍याइएको छ । उनीहरूको पनि बुधबार र बिहीबार शल्यक्रिया गरिने आचार्यले जनाएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले पनि १८ जना आङ खसेको महिलाको उपचार गरेको छ । गत पुस २० र २१ गते सञ्चालन गरिएको शिविरमा स्क्रिनिङ गरिएका २२ मध्ये १८ जनालाई माघ ४ गते शिर मेमोरियल अस्पताल पुर्‍याएर उपचार गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले सुनाएका छन् । उनका अनुसार, १८ मध्ये १३ जनाको शल्यक्रिया गरिएको छ । अन्य दुई जनाको प्रेसर र एक जनाको सुगर बढेकाले १५ दिनपछि अस्पताल बोलाइएको छ । दुई जनालाई रिङप्रेसरी राखिएको गिरीले सुनाएका छन् ।

अस्पताल पुर्‍याइएका सबै सोमबार डिस्चार्ज भएको गिरीले सुनाएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा स्क्रिनिङ गरिएको दुई जना व्यक्तिगत रूपमा आफ्नै खर्चमा हस्पिटल गएको र बाँकी ४ जना भने पारिवारिक समस्याका कारण हस्पिटल नगएको आचार्यले सुनाएका छन् । 

हलेसी तुवाचुङ नगरपालिकामा पनि ४ जना हस्पिटल नगएको गिरीले जनाएका छन् ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully