राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदान बहिष्कार गर्दा मत संख्या घटेको छ ।
What you should know
काठमाडौँ — राष्ट्रिय सभा सदस्य चयनका लागि आइतबार कोशी प्रदेशमा भएको मतदानमा स्थानीय तहतर्फ २ सय ५८ र प्रदेशसभा तर्फ ८७ मत खसेको छ ।
स्थानीय तहम २ सय ७४ र प्रदेशसभामा ९३ मतदाता थिए । मतभार प्रणाली अनुसार स्थानीय तहको १९ र प्रदेशका ५३ तोकिएको छ ।
मतदान सम्पन्न भएसँगै केही समयपछि सर्वपक्षीय बैठक बसेर गणना सुरु गरिने प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराम दंगालले जनाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदान बहिष्कार गर्दा मत संख्या घटेको हो । राप्रपाले केन्द्रीय समितिको निर्णयअनुसार नै राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने र मतदान बहिष्कार गर्ने जनाएको थियो । यही निर्णयअनुसार कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टसहित राप्रपाका प्रदेशसभा पाँच सदस्यहरूले मतदान गरेनन् ।
मतदान बहिष्कार गर्ने प्रदेशसभा सदस्यमा सभामुख विष्टसँगै गोपालबहादुर विश्वकर्मा, नीमसरी राजवंशी, प्रेमराज थामसुहाङ र सबिना बजगाईं रहेका छन् । कोशी प्रदेशसभामा राप्रपाबाट निर्वाचित ६ मध्ये एक सदस्य भक्तिप्रसाद सिटौला झापा-४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएपछि पदबाट राजीना दिएका छन् ।
प्रदेशसभा सदस्यसँगै राप्रपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पनि मतदान बहिष्कार गरेका छन् । बहिष्कार गर्नेहरूमा दमक नगरपालिकाका मेयर रामकुमार थापा, भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्की, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष लक्ष्मीदेवी मैनाली लगायत रहेका छन् ।
एमाले–कांग्रेस गठबन्धनले सोम पोर्तेल र रोशनी मेचे तथा नेकपाले खेमराज सुन्दास र नमिता न्यौपानेलाई उम्मेदवार बनाएको थियो । गठबन्धनका उम्मेद्वार सुनिल थापा यसअघि नै निर्विरोध भइसकेका छन् ।
