धरानस्थित गल्फ कोर्समा माघ १६ र १७ गते दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला, पुरुष र भेट्रान गरी १२० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
What you should know
धरान — कोशी प्रदेश गल्फ संघ र चिभास रिगलको साझेदारीमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट–२०२६’ आयोजना हुने भएको छ।
धरानस्थित गल्फ कोर्समा माघ १६ र १७ गते दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला, पुरुष र भेट्रान गरी १२० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले गल्फ खेलको दीर्घकालीन विकासप्रति संघ प्रतिबद्ध रहेको बताउँदै पूर्वी नेपालमा गल्फ खेलको प्रचार–प्रसार र सम्भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए।
स्थापनाकालदेखि नै गल्फ खेलको प्रवर्द्धन गर्दै आएको संघले एमेच्योर तथा व्यावसायिक दुवै खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च तथा विकासका अवसर प्रदान गर्दै आएको र यस प्रतियोगिताले खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा थप भूमिका खेल्ने विश्वास व्यक्त गरका छन् ।
प्रतियोगिताको प्रमुख साझेदार चिभास रिगलले विगतका वर्षहरूमा काठमाडौं केन्द्रीत प्रिमियम गल्फ प्रतियोगिताहरूलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अब राजधानी बाहिरका क्षेत्रहरूमा पनि गल्फ खेलको प्रवर्द्धन गर्ने लक्ष्यसहित कोशी प्रदेश गल्फ संघसँग सहकार्य गरिएको जनाएको छ।
चिभास रिगलका कन्ट्री बिजनेस डेभलपमेन्ट म्यानेजर सौरभ भट्टराईले नेपालमा गल्फ खेलसँग चिभास रिगलको पुरानो सम्बन्ध रहेको स्मरण गराउादै पूर्वी क्षेत्रमा गल्फ खेलको विकास र लोकप्रियतामा सार्थक योगदान दिने उद्देश्यले सहकार्य गरिएको बताए। उनले काठमाडौंबाहिर गल्फ खेलको विस्तार आगामी दिनहरूमा प्रमुख प्राथमिकता रहने स्पष्ट पारे।
प्रतियोगिताको हस्पिटालिटी पार्टनर इटहरी पशुपति मार्गमा हालै सञ्चालनमा आएको होटल रामाडा रहेको छ भने सह–आयोजकका रूपमा धरान गल्फ क्लब रहेको छ।
