उदयपुर १ का स्वतन्त्र उम्मेदवारलाई मुढा र भँगेरो चिह्न

रोका एमाले र राईले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार हुने आकांक्षा राखेका थिए । दुवैलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उठेका हुन् ।

माघ १०, २०८२

राकेश नेपाली

Udayapur 1 independent candidate gets a symbol of a monkey and a sparrow

उदयपुर — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डा. देवराज रोका (कल्याण)ले मुढा र क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार मेजरकुमार राईले भँगेरो चुनाव चिह्न पाएका छन् ।

आफू सम्वद्ध पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुलाई शुक्रबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न प्रदान गरेको हो ।

रोकाले एमाले र राईले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार हुने आकांक्षा राखेका थिए । दुवैलाई पार्टीले टिकट नदिएपछि उनीहरु स्वतन्त्र उठेका हुन् । 

राजनीतिक अर्थशास्त्रमा पिएचडी गरेका रोका युवा स्वरोगार कोषका पूर्वकार्यकारी उपाध्यक्ष, एमालेको अर्थ समितिको सल्लाहाकार, अर्थ मन्त्रालयको सल्लाहाकार समितिका तत्कालीन सदस्य समेत हुन् । रोकाले २०७९ को निर्वाचनमा उदयपुर क्षेत्र नं. १ बाट चुनाव लड्ने ईच्छा गरे पनि सो क्षेत्रबाट एमालले मञ्जु चौधरीलाई टिकट दिएको थियो । उदयपुर–१ मा यसपाली एक जना स्वतन्त्रसहित १८ जना उम्मेदवार रहेका छन् ।

तत्कालीन नेकपा माओवादीबाट दास्रो कार्याकालका लागि लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित राई उदयपुर क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने ईच्छा राखे पनि टिकट नपाएपछि उनी स्वतन्त्र उठेका हुन् । उनको ठाउँमा नेपाली कम्युनिष्ट पार्टीले सुरेशकुमार राई (हिमाल)लाई उम्मेदवार बनाएको छ । उदयपुर–२ मा एक जना स्वतन्त्रसहित १३ जना चुनावी प्रतिष्पर्धामा छन् ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully