८ सयभन्दा बढीले लिए स्वास्थ्य लाभ ।
संखुवासभा — जिल्लाको मकालु गाउँपालिका–५ नुममा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट दुर्गम क्षेत्रका ८ सयभन्दा बढी स्थानीय बासिन्दाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन् ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गरिब, अशक्त तथा लक्षित वर्गलाई सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा ८ सय ४१ जनाले स्वास्थ्य परीक्षण गराएका हुन् ।
हेल्पिङ ह्यान्ड्सका संस्थापक नारायण श्रेष्ठको विशेष पहलमा अमेरिकाबाट आएका १४ जना विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा दिएको थियो । बुधबार र बिहीबार भएको शिविरमा जनरल फिजिसियन, हाडजोर्नी, नाककान, घाँटी, बालरोग, स्त्रीरोग तथा मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो ।
यसका साथै आँखा परीक्षण, ईसीजी सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण, निःशुल्क औषधि वितरण तथा रिडिङ्ग ग्लास प्रदान गरिएको थियो । आफ्नै गाउँघरमा विदेशी विशेषज्ञ चिकित्सकबाट उपचार पाउँदा स्थानीय बासिन्दा उत्साहित र हर्षित देखिएका थिए ।
शिविरको अवलोकन गर्दै मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले दुर्गम क्षेत्रमा आएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकामा खुसी व्यक्त गरे ।
