छ्याङकुटी–बतासेडाँडा जोड्ने साढे ११ किमि ‘फुट ट्रेल’ निर्माण हुँदै

नगरप्रमुख थपलियाले खाँदबारी वरिपरि व्यवस्थित ‘फुट ट्रेल’ निर्माण गर्न सकिए नगरको सौन्दर्य वृद्धि हुनुका साथै आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे ।

माघ ८, २०८२

दीपेन्द्र शाक्य

An 11.5 km foot trail connecting Chhyangkuti and Batasedanda is being constructed.

काठमाडौँ — संखुवासभा-खाँदबारी नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यसहित ‘लालीगुराँस पदमार्ग’ निर्माण सुरु गरिएको छ ।

खाँदबारी नगरपालिका–४ को छ्याङकुटीदेखि खाँदबारी–१० र ११ को सिमानामा पर्ने बतासेडाँडासम्म ९८ लाखको लागतमा साढे ११ किलोमिटर लामो पदमार्ग निर्माणको बुधबार औपचारिक शिलान्यास गरिएको हो ।

खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले एक कार्यक्रमका बीच पदमार्ग निर्माणको शिलान्यास गरे । नगरप्रमुख थपलियाले खाँदबारी वरिपरि व्यवस्थित ‘फुट ट्रेल’ निर्माण गर्न सकिए नगरको सौन्दर्य वृद्धि हुनुका साथै आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । पदमार्गलाई खाँदबारी नगरपालिकासँगै चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिकाको बाह्रबिसे बजारसम्म जोड्ने दीर्घकालीन लक्ष्यका साथ अघि बढाइएको उनले बताए ।

‘भविष्यमा चिचिला गाउँपालिकालाई खाँदबारी नगरपालिकासँग गाभेर उपमहानगरपालिका बनाउने सम्भावनासमेत रहेको छ,’ उनले भने, ‘विकास र समृद्धिप्रति नगर प्रतिबद्ध छ । हामी नगरबासीको भावना कदर गर्दै विकासका कामलाई तीव्रता दिएका छौं । निर्माण कार्य समयमै सम्पन्न गरिनेछ र आगामी दिनमा पनि नगरपालिकाले आवश्यक बजेट विनियोजन गरी निरन्तरता दिनेछ ।’ 

उनका अनुसार अब छिट्टै चिचिला गाउँपालिकासम्म जोड्ने अर्को ‘फुट ट्रेल’ निर्माण कार्यसमेत अघि बढाइनेछ । यस पदमार्गले स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको उनको भनाइ छ । 

दीपेन्द्र शाक्य

Link copied successfully