ताप्लेजुङमा ३८ देखि ६६ वर्षका उम्मेदवार, महिला र स्वतन्त्र शून्य

हिमाली जिल्ला ताप्लेजुङमा ३८ देखि ६६ वर्ष उमेर समूहका व्यक्ति चुनावी मैदानमा उत्रिएका छन् ।

माघ ७, २०८२

आनन्द गौतम

In Taplejung, there are zero candidates aged 38 to 66, women and independents.

ताप्लेजुङ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि महिला र स्वतन्त्र उम्मेदवार शून्य रहेको हिमाली जिल्ला ताप्लेजुङमा ३८ देखि ६६ वर्ष उमेर समूहका व्यक्ति चुनावी मैदानमा उत्रिएका छन् । १३ दलका १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगको कार्यालय ताप्लेजुङमा उम्मेदवारी दर्ता गराएका मध्ये सबैभन्दा कम उमेरका कान्छा उम्मेदवार नेकपा एमालेका क्षितिज थेबे छन् । उनी ३८ वर्षका छन् । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष थेबे पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । थेबे सिरिजङ्गा गाउँपालिका–१ सिनाममा जन्मिएका हुन् ।

सबैभन्दा बढी उमेरका भने संघीय समाजवादी पार्टी नेपालका सूर्य गुरुङ छन् । फुङलिङ नगरपालिका–२ बोझेका उनी ६६ वर्षका छन् । चुनावी प्रतिस्पर्धामा सिरिजङ्गा–७ खेवाङका ४६ वर्षीय गजेन्द्रप्रसाद तुम्याहाङ नेपाली कांग्रेसबाट, सिरिजङ्गा–४ पेदाङका ५० वर्षीय खेलप्रसाद बुढाक्षेत्री नेपाली कम्युनिस्ट पार्टीबाट, सिरिजङ्गा–१ सिनामका ५५ वर्षीय वीरेन्द्र श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् ।

फुङलिङ नगरपालिका–४ का ६५ वर्षीय कीर्तिमान मादेन उज्यालो नेपालबाट, मिक्वाखोला–२ खोक्लिङका ६३ वर्षीय इन्द्र थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, फक्ताङलुङ–३ लिंखिम सिवाका ६१ वर्षीय नरपति पौडेल नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट र सिरिजङ्गा–८ याम्फुदिनका ४९ वर्षीय सन्तोष राई श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका छन् ।

फुङलिङ नगरपालिका–२ का ५७ वर्षीय सन्तबहादुर लिम्बू मंगोल नेशनल अर्गनाइजेसनबाट, फुङलिङ नगरपालिका–१० का ४८ वर्षीय अरुण सुब्बा लेछर्वो जनता समाजवादी पार्टीबाट, मिक्वाखोला–४ साँवाका ४८ वर्षीय इन्द्रकुमार लिम्बू नेपाल मुक्ति पार्टीबाट र फक्ताङलुङ–४ इखावुका ४४ वर्षीय मुक्साम लाबुङ लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवार बनेका छन् ।

निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार माघ ६ गते बिहान १०:४४ बजेदेखि बेलुका ४:१५ बजेसम्म सबै उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । सबैभन्दा पहिलो मंगोल नेशनल अर्गनाइजेसन र सबैभन्दा पछिल्लो नेपाली कांग्रेसका उम्मेदवारले दर्ता गराएको श्रेष्ठले जानकारी दिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully