पाँचथरमा महिला र स्वतन्त्र उम्मेदवार शून्य

दलबाट मात्रै १५ जनाको उम्मेदवारी ।

माघ ६, २०८२

लक्ष्मी गौतम

Zero women and independent candidates in Panchthar

पाँचथर — एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधि सभा सदस्यका लागि १५ दलले मनोनयन दर्ता गराएका छन् ।

यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय मुक्ति पार्टी, नेकपा (माओवादी), नेपाल मजदुर किसान पार्टी र श्रम संस्कृति पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसपटक कांग्रेसले केन्द्रीय सदस्य नरेन्द्रकुमार केरुङलाई उम्मेदवार बनाएको छ । निवर्तमान केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदेम्बे र जिल्ला सभापति रुपनारायण जवेगूसहित नारा जुलुस गर्दै पुगेका कांग्रेस नेता–कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै एमालेका तर्फबाट केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ उम्मेदवार बनेका छन् । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) लाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महेन्द्रविक्रम थाम्सुहाङ र श्रम संस्कृति पार्टीका तर्फबाट हस्तराज सेर्मा उम्मेदवार बनेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तेजकुमार कुरुम्वाङ, राट्रिय परिवर्तन पार्टीका तर्फबाट टेकबहादुर लिम्बू, मंगोल नेसनल अर्गनाइजेसनका तर्फबाट रामकुमार तुम्रोकको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले बताए ।

यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट लक्षुमण गुरुङ, लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट भानु फियाक, जनमुक्ति पार्टीका तर्फबाट नरेन्द्रकुमार कुरुम्वाङ, जनता समाजवादी पार्टीका तर्फबाट मचिन्द्र बेघा, राष्ट्रिय अग्रगामी गठबन्धनका तर्फबाट मित्र लिङदेन, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट प्रकाश काफ्ले र नेकपा (माओवादी)का तर्फबाट विजय नेम्वाङको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छैन । यस्तै महिलाको पनि उम्मेदवारी परेको छैन ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully