माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछारलाई सरकारले २०६१ सालदेखि राष्ट्रिय पर्व घोषणा गरेको हो।
धरान — नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६२ औँ (अग्नी पुरुष घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक झाँकी र्यालीसहित भव्य रुपमा मनाएको छ।
सोमबार नगर समितिको आयोजनामा धरानका २० वटै वडाहरू तथा विभिन्न गुम्बाबाट तामाङ समुदायको मौलिक संस्कार, संस्कृति र भेषभूषा झल्किने झाँकीसहित र्याली निकालिएको थियो।
र्याली भानुचोकबाट छाता चोक, सिंहदेवी चोक, पुरानो बजार र देशी लाइन हुँदै पुनः भानुचोकमा पुगेर समापन भएको थियो।
कार्यक्रममा नेपाल तामाङ घेदुङ धरान उपमहानगर अध्यक्ष सपन कमार योन्जन तामाङले सबै जातजातिले एक–अर्काको धर्म तथा संस्कृतिको सम्मान गर्नुपर्ने बताए।
सोनाम ल्होछारको अवसरमा भानुचोकमा ऐतिहासिक तथा सांस्कृतिक पहिचान झल्किने प्रदर्शनी, तामाङ परिकार, भेषभूषा, छोक प्रसाद तथा सगुन ग्रहण कार्यक्रमसमेत गरिएको थियो। अध्यक्ष तामाङका अनुसार यस पर्वलाई विगतका वर्षदेखि सांस्कृतिक पर्यटन महोत्सवको रूपमा पनि मनाइँदै आएको छ।
सरकारले २०६१ सालदेखि माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछारलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरेको हो। कार्यक्रममा धरानका २० वटै वडाबाट तामाङ सेलो नृत्य प्रस्तुत गरिएको थियो।
