एमाले ओखलढुंगा पार्टी कार्यालयमा ताला

भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले निर्णय सच्याउन माग गर्दै अनिश्चितकालका लागि ताला लगाएको आइतबार जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

माघ ४, २०८२

डम्बरसिं राई

UML Okhaldhunga party office locked

What you should know

खोटाङ — एमाले केन्द्रले अस्मिता थापालाई टिकट दिएकोप्रति असन्तुष्ट जनाउँदै एमाले ओखलढुंगा पार्टी कार्यालयमा ताला लगाइएको छ । 

जिल्ला कमिटीले सिफारिस नगरेको व्यक्तिले टिकट पाएको भन्दै त्यसलाई सच्याउन माग गर्दै एमाले ४ जनवर्गीय संगठनले आइतबार ताला लगाएका हुन् । भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले निर्णय सच्याउन माग गर्दै अनिश्चितकालका लागि ताला लगाएको आइतबार जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय युवा संघ ओखलढुंगाका अध्यक्ष विवेश तामाङ, अनेरास्ववियुका अध्यक्ष अर्जुन गिरी, अखिल नेपाल महिला संघकी अध्यक्ष पशुपति गुरुङ र नेपाल खेलकुद महासंघका अध्यक्ष राजकुमार राईले विज्ञप्ति जारी गरी निर्णय नसच्चिएसम्म अनिश्चितकालीन तालाबन्दी गरेको जनाएका हुन् ।

त्यस्तै एमाले ओखलढुंगाका अध्यक्ष ज्ञानबहादुर खड्काले आइतबारै विज्ञप्ति जारी गरी जनवादी केन्द्रीयताको नाममा ओखलढुंगा जिल्ला कमिटीले गरेको निर्णय उल्ट्याएर आमपार्टी कार्यकर्ताहरूको मनोभावनाविपरीत गुटका लागि निर्णय गरिएकाले त्यस्ता व्यक्तिलाई सहयोग गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेका छन् । 

एमाले ओखलढुंगाका उपाध्यक्ष कमल न्यौपानेका अनुसार पार्टी केन्द्रको पूर्वाग्रहले ओखलढुंगा जिल्ला कमिटीको निर्णयलाई उल्टाएर सिफारिस नभएको व्यक्तिलाई टिकट दिएर पठाएपछि भ्रातृ संगठनहरूले ताला लगाएका हुन् । ‘पार्टी केन्द्रले पूर्वाग्रही तवरले जिल्ला कमिटीको निर्णयलाई उल्टाएर सिफारिस त के छलफलमा नामै नआएको व्यक्तिलाई टिकट दिएपछि यस्तो अवस्था आएको हो,’ न्यौपानेले भने ।

न्यौपानेका अनुसार उम्मेदवारका लागि इच्छा राख्ने १८ मध्ये ५ जनाको नाम सिफारिस गरिएको थियो । सिफारिसमा परेका ईश्वर पोखरेल, यज्ञराज सुनुवार, अमिरबाबु गुरुङ, नानीबाबु बढाथोकी र ज्ञानबहादुर खड्कामध्ये एक जनालाई टिकट दिनुपर्नेमा नदिएर छलफलमा नामै नआएको व्यक्ति (थापा) लाई टिकट दिएर पठाएपछि यो अवस्था आएको न्यौपानेले सुनाए । थापा जेन–जी समूहबाट केन्द्रीय सदस्य भएकी हुन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully