आयोजक बसाहा क्लबले माघ १५ देखि प्रतियोगिता सञ्चालन गरी २२ गते फाइनल खेल हुने जनाएको छ।
उदयपुर — ११ औं नारदमूनि थुलुङ स्मृति गोल्डकप आगामी माघ १५ गतेदेखि सञ्चालन हुने भएको छ ।
आयोजक बसाहा क्लबले माघ १५ देखि प्रतियोगिता सञ्चालन गरी २२ गते फाइनल खेल हुने जनाएको छ। चौदण्डीगढी नगरपालिका–४ स्थित नारदमूनि थुलुङ रंगशाला बसाहामा खेल सञ्चालन हुनेछ ।
प्रतियोगितामा विभिन्न राष्ट्रिय स्तरका आठ टिमले भाग लिने छन् । क्लबका अध्यक्ष दिनेश राईका अनुसार उपाधि विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ नगद पुरस्कार रहेको छ ।
सहभागी टिमहरुमा आयोजक बसाहा–११, एलएक्स सिटि मोरङ–११, द योङ ब्रोदर्श सुनसरी–११, सहलेश क्लव सिरहा, नेपाल खेलकुद क्लब रौतहट, एपीएफ क्लब काठमाडौं, न्यू त्रियुगा स्पोर्टस् क्लब सप्तरी र झापा–११ रहेका छन् ।
प्रजातान्त्रिक योद्धा नारदमूनि थुलुङको स्मृतिमा आयोजना हुँदै आएको गोल्डकप उनकै स्वर्गरोहण भएको दिन फाइनल खेल हुने गरी आयोजना गरिएको छ । नारदमूनि थुलुङ स्मृति गोल्डकप जिल्लाको सबैभन्दा बढी संस्करणमा निरन्तर सञ्चालन भएको फुटबल प्रतियोगिता हो ।
विभिन्न सहयोगी, चन्दादाताको भरमा सञ्चालन हुँदै आएको गोल्डकपका लागि चौदण्डीगढी नगरपालिकाले १० लाख आर्थिक सहयोग गरेको छ। गोल्डकपमा करिब २३ लाख खर्च हुने आयोजकको अनुमान छ ।
