खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले शुक्रबार जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरे।

माघ २, २०८२

डम्बरसिं राई

Office of the Chief Electoral Officer established in Khotang

खोटाङ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले शुक्रबार जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन्।

न्यायाधीश पराजुलीले निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रक्रिया बढाइने बताए। यसका लागि सबै पक्षको सहयोग हुने अपेक्षा गरेको बताएका छन् । यसका साथै निर्वाचन आचारसंहिताको बारेमा जिल्लास्थित राजनीतिक दल तथा पत्रकारहरूसँग छलफल गर्ने जनाएका छन्।

प्रमुख अतिथिको रूपमा बोल्दै प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुद बनाइने बताएकी छन् । निर्वाचनका लागि आवश्यक १ हजार २ सय ८२ जना निर्वाचन प्रहरीमध्ये ८ सय ६४ जनाले आवेदन दिएको समेत कँडेलले सुनाएकी छन् । 

निर्वाचन प्रहरीका लागि माघ ३ गते ५ बजेसम्म आवेदन दिन सकिने जिल्ला प्रहरी खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताए। प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको खोटाङमा महिला ६९ हजार ४ सय ६४ र पुरुष ७७ हजार ६ सय ५६ गरी १ लाख ४७ हजार १ सय २० मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरले बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully