बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस आपसमा जुँधेका थिए।
विराटनगर — झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअप गाडी र यात्रुवाहक बस जुध्दा आमा-छोराको मृत्यु भएको छ। १२ जना यात्रु घाइते छन् ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब साढे ९ बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस आपसमा जुँधेका थिए।
दुर्घटनामा घाइतेमध्ये भद्रपुर नगरपालिका निवासी ४० बर्षीया सुष्मा राजवंशी र उनका डेढ बर्षीय छोरा आरुति राजवंशीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते उनीहरुको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा पिकअप चालक बिर्तामोड नगरपालिका–६ निवासी ३९ वर्षीय जाकिर हुसेनसहित पिकअपमा सवार १२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर, केहीको मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूमध्ये फुलमुन्नी मुर्मु, जमुना राजवंशी र ११ वर्षीय अनिष राजवंशीको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। अन्य घाइतेहरूको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। गम्भीर घाइतेमा आफुद राजवंशी र पाथल राजवंशी रहेका छन्।
दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी नियन्त्रणमा लिइएको छ। बस चालक भने घटनापछि फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
