नयाँ वर्ष मनाउँदै किरात समुदाय

किराती पात्रो अनुसार यो वर्षको माघ १ गतेदेखि किरात सम्वत् ५०८६ सुरु भएको छ ।

माघ १, २०८२

लक्ष्मी गौतम

Kirat community celebrating New Year

What you should know

पाँचथर — किरात समुदायका लिम्बु राई, याक्खा र सुनुवारले बिहीबार नयाँ वर्ष मनाइरहेका छन्।

माघे संक्रान्तिसँगै किराती पात्रोमा सम्वत फेरिने भएकाले माघ १ गतेका दिन पूर्वी नेपाल थातथलो भएर देशविदेशमा पुगेका लिम्बु समुदायले किरात नयाँ वर्ष धुमधाम साथ मनाउने गरेका छन्। किराती पात्रो अनुसार यो वर्षको माघ १ गतेदेखि किरात सम्वत् ५०८६ सुरु भएको छ ।

यो सिजनमा संक्रान्तिदेखि उच्च पहाडी क्षेत्रमा पाइने चाप प्रजातिको फूल फुल्न सुरु हुन्छ । त्यसैले लिम्बु समुदायले माघे संक्रान्तिलाई ककफेवा तङनाम भनेर भन्ने गर्छन्।  

लिम्बु भाषामा कक भनेको चााप, फेवा भनेको फूल्ने र तङनाम भनेको सिजन अर्थात् ककफेवा तङनाम भनेको चााप फूल्ने सिजन हो । यो पर्वामा घरको ज्येष्ठ सदस्य वा अभिभावकले वन तरुल पोलेर सदस्यलाई टीका लगाउँदै आर्शिवाद दिने चलन रहेको किरात संस्कृतिका जानकार लक्ष्मण लावतीले बताए।

किरात नयाँ वर्षलाई लिम्बु समुदायले कुसङ यले तङबे र राई समुदायले यले दङ भनेर मनाउने गर्छन्। यस्तै याक्खा र सुनुवार समुदाया पनि माघ १ बाटै नयाँ वर्ष सुरु भएको मान्ने चलन छ।

किरात सम्वत नेपालमा हाल प्रचलनमा रहेको विक्रम सम्वत भन्दा ३ हजार ४ वर्ष जेठो रहेको उनीहरु इतिहासका जानकारहरु बताउँछन् । यले तङवे सम्वत किराती राजा यलम्बरले शासन सुरु गरेपछि मनाउन थालिएको किम्वदन्ती छ । नयाँ वर्षको अवसरमा पाँचथर, तेह्रथुम, ताप्लेजुङ, ईलाम, झापा, धनकुटालगायतका जिल्लामा विभिन्न सांस्कृति कार्यक्रम पनि आयोजना गरिएका छन्।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully