निर्वाचन तयारीमा सुरक्षा र प्रशासनिक संयन्त्र सक्रिय

आगामी निर्वाचनलाई सफल बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलबीच थप समन्वय आवश्यक रहेको निष्कर्ष निकालिको छ।

पुस २९, २०८२

दीपेन्द्र शाक्य

Security and administrative mechanisms activated in election preparations

संखुवासभा — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको छ।

कार्यक्रममा निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्थापन र मतदाता विवरणबारे जानकारी गराइएको थियो।

माघ २ गतेदेखि जिल्ला हुलाक कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिइएको छ। जिल्ला प्रशासन र जिल्ला सुरक्षा समितिको समन्वयमा निर्वाचन केन्द्रित गतिविधिहरू तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन्।

जिल्लास्तरमा निर्वाचन एकीकृत सुरक्षा योजना तयार भइसकेको छ भने प्रदेशस्तरीय निर्वाचन सुरक्षा गोष्ठी पनि सम्पन्न भएको छ। मतदानस्थलहरूको क्रमिक रुपमा अनुगमन तथा निरीक्षण भइरहेको र जिल्ला कमाण्ड पोष्ट तथा जिल्ला निर्वाचन सेल गठन गरिएको उनले बताइन्।

सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउन निर्वाचन प्रहरी छनोटका लागि विज्ञापन प्रकाशन गरिएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला पूर्णरूपमा तयारी अवस्थामा रहेको उनले बताइन्। उनले निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित निर्वाचन गराउन सबै संयन्त्र परिचालित भएको उल्लेख गरिन्।

राजनीतिक दलका प्रतिनिधिहरूले भने निर्वाचन कार्यालयबाट प्रचारप्रसारमा कमी भएको गुनासो राखेका छन्। निर्वाचन आयोग गाउँस्तरसम्म प्रभावकारी रूपमा पुग्न नसकेको संखुवासभाका दलहरुको आरोप छ।

दलका प्रतिनिधिहरूले निर्वाचनलाई लक्षित गर्दै आआफ्ना गतिविधि अघि बढाइरहेको जानकारी गराएका छन्। आगामी निर्वाचनलाई सफल बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलबीच थप समन्वय आवश्यक रहेको निष्कर्ष निकालिको छ।

दीपेन्द्र शाक्य

Link copied successfully