जातीय विभेद उन्मूलन गर्ने लक्ष्यसहित दलित अगुवालाई धार्मिक कर्मकाण्ड तालिम दिइएको हो।
सोलुखुम्बु — माप्य दुधकोशी गाउँपालिकाले धार्मिक कर्मकाण्डमा पिछडिएका समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले दलित समुदायका अगुवालाई सात दिने कर्मकाण्ड तालिम दिएको छ।
गाउँपलिकाकाले वार्षिक कार्यक्रम अन्तर्गत जातीय विभेद उन्मूलन गर्ने लक्ष्यसहित दलित अगुवालाई धार्मिक कर्मकाण्ड तालिम दिइएको हो।
ब्राह्मण समुदायले मात्रै गर्दै आएको कर्मकाण्डलाई विस्तार गर्दै दलित समुदायका ब्यक्तिलाई पनि दक्ष बनाउन तालिम दिइएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए।
कर्मकाण्डमा दलित समुदायको सहभागिता न्यून रहँदै आएको सन्दर्भमा गाउँपालिकाले विश्वकर्मा समुदायका ११ जनालाई लक्षित गरी तालिम सञ्चालन गरेको अध्यक्ष राईले बताए।
गाउँपालिकाका सातै वडाबाट प्रतिनिधित्व हुने गरी छनोट गरिएका सहभागीलाई जन्म, विवाह, मृत्यु संस्कार, चाडपर्व तथा विभिन्न धार्मिक विधि–विधानसम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको हो। समाजमा विद्यमान छुवाछूत र धार्मिक विभेद अन्त्य गर्न यस्ता सीपमूलक तालिम महत्त्वपूर्ण हुने अध्यक्ष राईले बताए।
‘दलित समुदायका घरमा पुरोहित नआउने परम्परागत समस्याको समाधानका लागि स्थानीयस्तरमै दक्ष धार्मिक जनशक्ति उत्पादन आवश्यक थियो,’ पालिका अध्यक्ष राईले भने, ‘हामीले विल्कुलै नयाँ, रचनात्मक र उदाहरणीय काम गरेका छौं।'
पलिका उपाध्यक्ष गौरव राईले धार्मिक कर्मकाण्ड कुनै एक समुदायको मात्र अधिकार नभएको उल्लेख गर्दै समानता, समावेशीता र सामाजिक न्यायको अभ्यासका लागि तालिम आयोजना गरिएको बताए। स्थानीय पुरोहित कृष्णप्रसाद घिमिरेले सहजीकरण गरेको तालिमबाट सहभागीहरूले धार्मिक कर्मकाण्डसम्बन्धी ज्ञानले आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्।
