सोलुखुम्बु जिप दुर्घटना: २ जनाको मृत्यु, ७ घाइतेको उद्धार

माप्य दुधकोशी गाउँपालिका–६ वाकु चोकबाट वडा ७ वरोदी रोचमतर्फ जाँदै गरेको बिएडी ७७४२ नम्बरको डबल क्याप बोलेरो जिप सडकबाट करिब १ सय मिटर तल खसेको हो।

पुस २८, २०८२

भानुभक्त निरौला

Solukhumbu jeep accident: 2 dead, 7 injured rescued

सोलुखुम्बु — सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्।

सोमबार दिउँसो १२ बजेतिर माप्य दुधकोशी गाउँपालिका–६ वाकु चोकबाट वडा ७ वरोदी रोचमतर्फ जाँदै गरेको बिएडी ७७४२ नम्बरको डबल क्याप बोलेरो जिप सडकबाट करिब १ सय मिटर तल खसेको हो।

दुर्घटनामा चालक र एक यात्रुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

मृत्यु हुनेमा बोलेरो चालकमाप्य दुधकोशी गाउँपालिका–५ काकु निवासी २८ वर्षीय प्रदिप राई र यात्रु २८वर्षीया कुशुम राई रहेका छन्। मृतक दुवैको पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको डीएसपी मनोजित कुँवरले जानकारी दिए।

दुर्घटनामा घाइते भएका २७ वर्षीय बलराम राई, ३० वर्षीय देवेन्द्र राईको टाउकोमा गम्भीर चोट लागेको र ३१ वर्षीय सुरेश राईको समेत अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।अन्य घाइते १९ वर्षीय मनोज राई र १७ वर्षीय सन्दीप राईलाई जिल्ला अस्पताल फाप्लु पठाइएको छ।

यस्तै, २७ वर्षीया देविका राई र २७ वर्षीया सविना राईको अवस्था सामान्य रहेकाले स्वास्थ्य चौकी वाकुमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

भानुभक्त

Link copied successfully