गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले कर कार्यालयको काम स्थानीय तहबाटै सम्पादन गर्ने निर्णय गरेबमोजिम करदाता सेवा कार्यालय गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
सोलुखुम्बु — खुम्बु पासाङ ल्हामु गाउँपालिकामा करसम्बन्धी सेवा सुचारु गरिएको छ । यसअघि करदाता सेवा कार्यालय लुक्लाले गर्दै आएको काम गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले कर कार्यालयको काम स्थानीय तहबाटै सम्पादन गर्ने निर्णय गरेबमोजिम करदाता सेवा कार्यालय गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
यससँगै करदाता सेवा कार्यालय लुक्लाबाट प्रवाह हुनै सबै सेवा गाउँपालिकामार्फत सुचारु गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिए । सेवा संचालनका लागि आन्तरिक राजस्व कार्यालय लाहान र गाउँपालिकाबीच सम्झौता भई गाउँपालिकामार्फत करसम्बन्धी काम सुरु गरिएको हो ।
पालिका अध्यक्ष मिङमा छिरी शेर्पाले खुम्बु क्षेत्रका व्यवसायीलाई अब पालिकाबाटै करसम्बन्धी सबै काम हुने भएकाले सहज हुने बताए । होटल व्यवसायीहरूलाई कर तिर्नकै लागि लाहानसम्म जानुपर्ने झण्झट अब हटेको उनको भनाइ थियो ।
पालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक प्यान नम्बर निकाल्न सकिनुका साथै सबै प्रकारका कर तिर्न मिल्ने प्रबन्ध मिलाइएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । अहिले पालिकाबाटै कर्मचारीको व्यवस्था गरेर करको काम भइरहेको छ ।
