ताप्लेजुङमा रास्वपाको उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठ

श्रेष्ठकै जन्मस्थल सिनामको पञ्चमी बजारमा आइतबार उम्मेदवार घोषणा सभा गरिएको हो ।

पुस २७, २०८२

आनन्द गौतम

Engineer Birendra Shrestha is the RSVP candidate in Taplejung.

What you should know

ताप्लेजुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इन्जिनियर तथा पार्टी जिल्ला सभापति वीरेन्द्र श्रेष्ठलाई प्रत्यक्षतर्फको उम्मेदवार घोषणा गरेको छ ।

आइतबार श्रेष्ठको जन्मस्थल सिरिजङ्गा गाउँपालिका-१ सिनाममा पुगेर उम्मेदवार घोषणा गरेको हो ।रास्वपाको शनिबार बसेको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

कुलमान घिसिङ रास्वपामा रहँदासम्म प्रत्यक्षतर्फको उम्मेदवार को बन्ने भन्ने यकिन थिएन । रास्वपा नेता युवराज बरालका अनुसार शनिबार दुईपटक बैठक बसेको थियो । बिहान साढे ११ बजे  बसेको बैठकमा कुलमान घिसिङ पक्षधर उज्यालो नेपाल पार्टीका जिल्ला अध्यक्ष प्रदीप मादेन, केन्द्रीय सदस्य कीर्तिमान मादेन लगायतको पनि सहभागिता थियो । उक्त बैठकमा पनि उम्मेदवारको विषयमा छलफल भएको थियो ।

‘आफूहरूलाई माथिल्लो निकायबाट कुनै सर्कुलर नआएको कुलमान पक्षधरले बताएपछि साँझ साढे ५ बजे बस्नेगरी बैठक स्थगित भयो,’ रास्वपाका बरालले भने,  ‘साँझ हाम्रो पार्टी बाहिरियो, अगाडि बढ्नुहोस् भनेर कीर्तिमान दाइले फोन गरेपछि हामीले सभापति वीरेन्द्र श्रेष्ठलाई सर्वसम्मत निर्णय गरेर अगाडि बढ्यौँ ।’ उम्मेदवार चयन तथा घोषणा पार्टी केन्द्रको निर्देशनअनुसारै गरिएको बराल बताउँछन् ।

श्रेष्ठकै जन्मस्थल सिनामको पञ्चमी बजारबाट श्रेष्ठ स्वयं र पार्टीका अन्य कार्यकर्तासहित उम्मेदवार घोषणा सभा गरिएको हो । घोषणासभामा जेनजीका प्रतिनिधिको पनि सहभागिता रहेको बरालले बताए । श्रेष्ठ इलेक्ट्रोनिक इन्जिनियर हुन् । उनले ताप्लेजुङमै बसेर फावाखोलाबाट ५ मेगावाट विद्युत् उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए भने माथिल्लो फावाखोला जलविद्युत आयोजनाबाट ६ मेगावाट विद्युत‍्समेत उनकै नेतृत्वमा उत्पादन भएको थियो ।

काबेली ए जलविद्युत् आयोजना लगायतको जिम्मेवारी उनले निर्वाह गरेका छन् । नेपाली कांग्रेस ताप्लेजुङको महाधिवेशन प्रतिनिधिसमेत भएका उनी कांग्रेस छोडेर रास्वपामा प्रवेश गरेका हुन् । उनी गायन क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully