फोक्सिङटारमा जोडियो बेलिब्रिज, यातायात सञ्चालनमा

बेलिब्रिज जडान भएसँगै तराईसँग जिल्लाको सिधा यातायात सम्बन्ध जोडिएको छ ।

पुस २७, २०८२

डम्बरसिं राई

Bailey Bridge connected to Phoksingtar, traffic operation resumes

खोटाङ — सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल सडक) अन्तर्गत फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान सकिएपछि यातायात सञ्चालनमा आएको छ ।

खोटेहाङ गाउापालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सकिएपछि शनिबारबाट यातायात सञ्चालन भएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए ।

बेलिब्रिज जडानको ठेक्का एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालिले लिएको थियो । मूल्य अभिवृद्धि कर (भ्याट)सहित ९६ लाख ७७ हजार ९ सय ३७ रूपैयाँमा ठेक्का लिएको थियो । उक्त ठाउँको पक्की पुल २०८१ असोज १२ गतेको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज लगाउनुपर्ने बाध्यता आइपरेको हो ।

बेलिब्रिज जडान भएपछि तराईसँग जिल्लाको सिधा यातायात सम्बन्ध जोडिएको छ । यसले जिल्लावासीलाई सहज भएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए । ‘सिधा यातायात सञ्चालनपछि सहज भएको छ,’ आचार्यले भने, ‘दैनिक उपभोग्य वस्तु मात्र होइन, निर्माणका सामग्रीदेखि यात्रुलाई समेत सहज भएको छ ।’

सुनकोशीकै बङ्शिलाघाटस्थित खोटाङको बाराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीमा बेलिब्रिज जडानको काम भने धमाधम भइरहेको बाराहापोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराले बताए । कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख रूपैयाँको लगानीमा गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले बेलिब्रिज जडानको काम जिम्मा लिएको हो ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully