फागुन २१ को निर्वाचन नै हाम्रो प्रमुख अर्जुन दृष्टि हो : डिआईजी घिमिरे

उनले प्रहरी एक्लैले मात्र निर्वाचनलाई सफल बनाउन नसक्ने उल्लेख गर्दै सबै सरोकारवालाको समन्वय र सहयोग अपरिहार्य भएको बताए ।

पुस २४, २०८२

दीपेन्द्र शाक्य

The election on Falgun 21 is our main Arjuna Drishti: DIG Ghimire

संखुवासभा — कोशी प्रदेशका प्रहरी प्रमुख डिआईजी विनोद घिमिरेले फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर सुरक्षा संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको बताएका छन् ।

संखुवासभाको निरीक्षणका क्रममा बिहीबार पत्रकारहरूसँगको भेटघाटमा उनले निर्वाचन सम्पन्न गराउनु सरकारको संवैधानिक म्यान्डेट भएकाले यसमा सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको स्पष्ट पारे ।

‘अहिलेको सबैभन्दा ठूलो अर्जुन दृष्टि भनेकै फागुन २१ को निर्वाचन हो,’ डिआईजी घिमिरेले भने, ‘निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकाय मात्र होइन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।’

उनले प्रहरी एक्लैले मात्र निर्वाचनलाई सफल बनाउन नसक्ने उल्लेख गर्दै सबै सरोकारवालाको समन्वय र सहयोग अपरिहार्य भएको बताए । विशेषगरी सञ्चारकर्मीले तथ्यपरक र जिम्मेवार रिपोर्टिङमार्फत जनतामा विश्वास कायम गर्न ठूलो योगदान दिन सक्ने उनको भनाइ थियो ।

डिआईजी घिमिरेका अनुसार जिल्लाका मतदान केन्द्रहरूलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । सोहीअनुसार सुरक्षा योजना तयार पारेर आवश्यक जनशक्ति परिचालन गरिने उनले जानकारी दिए ।

‘हरेक मतदान केन्द्र र स्थलमा गम्भीरतापूर्वक सुरक्षा व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘निर्वाचन प्रक्रिया लोकतन्त्रको मेरुदण्ड भएकाले कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन दिन्नौं ।’ 

दीपेन्द्र

Link copied successfully