सशस्त्र प्रहरीको श्रम सहयोगमा बन्यो आङबो परिवारको घर

घर निर्माणमा मनकारी व्यक्तिहरुले समेत नगद सहयोग गरेको शिक्षिका तुम्बापोले बताइन् ।

पुस २४, २०८२

लक्ष्मी गौतम

Angbo family's house built with the labor assistance of the Armed Police Force

पाँचथर — सशस्त्र प्रहरीको पाँचथरस्थित हिम शिखर गुल्मले फिदिम–१० का एक विपन्न परिवारका लागि घर निर्माण गरेर हस्तान्तरण गरेको छ ।

सशस्त्र प्रहरी बलले संगठनको २५ औं स्थापना दिवसको सन्दर्भ पारेर स्थानीय पूर्णकुमार र सम्झना आङबो दम्पतीको घर निर्माण गरेर हस्तान्तरण गरेको हो । आङबो दम्पतीका ३ जना छोराछोरी छन् । उनीहरु सबै सिद्धदेवी आधारभूत विद्यालय थाङनापामा अध्ययन गर्छन् । 

ती छोराछोरीका साथ घामपानी समेत नतर्किने सानो कटेरोमा बसिरहेको आङबो परिवारको दयनीय अवस्था देखेर उनीहरूकी छिमेकी तथा थाङनापाकी शिक्षिका रिता तुम्बापोले घर निर्माणका लागि सार्वजनिक रुपमा आह्वान गरेकी थिइन् । तुम्बापोको आह्वानपश्चात् जनसेवा समाजको समन्वयमा आङबो परिवारका लागि ढुङ्गा, माटो, टिन र काठ प्रयोग गरेर चिटिक्क परेको २ कोठे घर निर्माण गरिएको हो ।

घर निर्माणका लागि सशस्त्र प्रहरीका ८ जना कर्मचारीले निरन्तर १३ दिन श्रम गरेका थिए । काठपात स्थानीय स्तरमै जुटाइएको थियो भने टिन र अन्य सामग्री फिदिम नगरपालिका र फिदिम नगरपालिकाकै वडा नम्बर १० को कार्यालयले सहयोग गरेका  थिए । घर निर्माणमा मनकारी व्यक्तिहरुले समेत नगद सहयोग गरेको शिक्षिका तुम्बापोले बताइन् ।

सशस्त्र प्रहरी बलको फिदिमस्थित हिमशिखर गुल्मका प्रमुख (डीएसपी) चिरञ्जीवी प्रसार्इंले सामाजिक उत्तरदायित्वअन्तर्गत यो घर निर्माण गरिएको जानकारी दिए ।

नवनिर्मित घर बिहीबार हस्तान्तरण गरिएको छ । एक समारोहबीच फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसहितको उपस्थितिमा घर हस्तान्तरण गरिएको हो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully