ऐतिहासिक उदयपुरगढी–चौदण्डीगढी पदयात्रा सुरु

नेपाली सेनाका पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्कीका अनुसार ऐतिहासिक सम्पदाको संरक्षण, पर्यापर्यटनको विकास र नयाँ पुस्तालाई इतिहास, भूगोल तथा नैतिक शिक्षासँग जोड्ने लक्ष्यका साथ पदयात्रा आयोजना गरिएको हो ।

पुस २३, २०८२

राकेश नेपाली

Historic Udayapurgadhi-Chaudandigadhi trek begins

What you should know

उदयपुर — उदयपुरगढीबाट चौदण्डीगढीसम्मको पदयात्रा सुरु भएको छ । उदयपुरका ऐतिहासिक गढी तथा किल्लाको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाको आयोजनामा बुधबारबाट पदयात्रा सुरु गरिएको हो ।

नेपाली सेनाको पशुपतिप्रसाद गणको आयोजनामा ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पाँच दिन लामो ९१ किलोमिटरको पदयात्राको औपचारिक शुभारम्भ गरिएको हो ।

उदयपुरगढी गाउँपालिका–५ स्थित ऐतिहासिक गढी परिसरमा आयोजित समारोहमा नेपाली सेना पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले पदयात्रीलाई राष्ट्रिय झण्डा र नेपाली सेनाको झण्डा हस्तान्तरण गर्दै यात्राको शुभारम्भ गरेका थिए ।

उदयपुर जिल्लाका ऐतिहासिक गढी–किल्लाहरुको महत्त्व दर्शाउन तथा पर्यटन प्रवर्द्धनका लागि पदयात्रा सुरु गरिएको पशुपतिप्रसाद गणले जनाएको छ । पुस २३ गते उदयपुरगढीबाट सुरु भएको पदयात्रा ढुङ्ग्रे, डुम्रे, पुवारेभञ्ज्याङ, साउने, विरेन्द्र बजार हुँदै पुस २७ गते चौदण्डीगढी पुगेर सम्पन्न हुनेछ ।

पदयात्राको पहिलो दिन उदयपुरगढीबाट ढुङ्ग्रेसम्म १६ किलोमिटर, दोस्रो दिन ढुङ्ग्रेबाट पुवारे भञ्ज्याङसम्म २१ किलोमिटर, तेस्रो दिन पुवारे भञ्ज्याङबाट साउनेसम्म २१ किलोमिटर, चौथो दिन साउनेबाट विरेन्ऽबजारसम्म २४ किलोमिटर र पाँचौँ दिन विरेन्ऽबजारबाट चौदण्डीगढी नगरपालिका–१ स्थित चौदण्डीगढी दरबारसम्म १५ किलोमिटरको दूरी तय गरिएको छ ।

पदयात्रा मार्गमा पर्ने विद्यालयहरूमा कविता, निबन्ध, हाजिरी जवाफजस्ता प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिने सेनाले जनाएको छ । पदयात्रामा नेपाली सेनाको ऐतिहासिक कालो पोसाकमा सजिएका सैनिकहरू, अन्य सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा सर्वसाधारणहरु सहभागी छन् । 

शुभारम्भ समारोहमा उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर, रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगर, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति थियो । नेपाली सेनाका पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्कीका अनुसार ऐतिहासिक सम्पदाको संरक्षण, पर्यापर्यटनको विकास र नयाँ पुस्तालाई इतिहास, भूगोल तथा नैतिक शिक्षासँग जोड्ने लक्ष्यका साथ पदयात्रा आयोजना गरिएको हो ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully