बिहानैदेखि बाक्लो हुस्सु र बादल लागेपछि दृश्यता अत्यन्तै कम हुँदा जहाजको उडान तथा अवतरण पूर्ण रूपमा प्रभावित भएको विमानस्थल प्रशासनले जनाएको छ ।
विराटनगर — कम भिजिबिलिटीका कारण बुधबार विराटनगर विमानस्थलबाट एउटा पनि उडान हुन सकेन । बिहानैदेखि बाक्लो हुस्सु र बादल लागेपछि दृश्यता अत्यन्तै कम हुँदा जहाजको उडान तथा अवतरण पूर्ण रूपमा प्रभावित भएको विमानस्थल प्रशासनले जनाएको छ ।
विराटनगर विमानस्थलको मौसम मापन केन्द्र (मेट्रोलोजी स्टेसन) का प्रमुख राजेश झाका अनुसार बिहान करिब १२ देखि १४ सय मिटरसम्म मात्र भिजिबिलिटी रहेको थियो । दिउँसो हुस्सु अझै बाक्लिँदै गएपछि दृश्यता थप घटेको उनले बताए ।
‘जहाज उडानका लागि आवश्यक न्यूनतम भिजिबिलिटी नपुगेकाले बिहानदेखि नै उडान हुन सकेन,’ झाले भने, ‘साँझपख हुस्सु अझै बाक्लिने सम्भावना रहेकाले आज कुनै पनि उडान सम्भव देखिँदैन ।’
सामान्यतया विराटनगरजस्ता आन्तरिक विमानस्थलमा हुने उडानका लागि कम्तीमा करिब १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, बुधबार दिनभरि नै दृश्यता उक्त मापदण्डभन्दा तल झरेपछि जहाज उडान–अवतरण रोकिएको हो ।
उडान नहुँदा विराटनगरबाट काठमाडौंसहित अन्य गन्तव्यतर्फ यात्रा गर्ने यात्रुहरू प्रभावित भएका छन् । कतिपय यात्रुहरू बिहानै विमानस्थल पुगे पनि उडान रद्द भएपछि फर्किन बाध्य भएका थिए ।
विराटनगर विमानस्थलबाट सामान्य अवस्थामा दैनिक दर्जनभन्दा बढी उडान हुने गर्छन् । जाडो मौसम सुरु भयसँगै तराईका विमानस्थलहरूमा हुस्सु र कम भिजिबिलिटीका कारण उडान अवरुद्ध हुने समस्या बारम्बार देखिँदै आएको छ ।
