कांग्रेसबाट प्रदीप सुनुवारको नेतृत्वमा नयाँ टोली सरकारमा सहभागी हुँदै
विराटनगर — कोशी प्रदेशमा मन्त्रीमण्डल पुनर्गठन हुने भएको छ । सत्ता साझेदार एमाले र कांग्रेसबीच मन्त्री फेरबदल गर्ने सहमति जुटेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री हेरफेर गर्न लागेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसारनयाँ मन्त्रीहरूको शपथ मंगलबार अपराह्न साढे ४ बजे हुँदैछ । प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मन्त्रीहरूलाई शपथ गराउँदैछन् ।
कांग्रेसबाट प्रदीप सुनुवारको नेतृत्वमा नयाँ टोली सरकारमा सहभागी हुँदैछ । संस्थापन पक्षबाट सुनुवार र इसराइल मन्सुरी, कृष्ण सिटौला पक्षबाट भीम पराजुली तथा शेखर कोइराला पक्षबाट मानबहादुर लिम्बू मन्त्री बन्ने सम्भावना छ ।
स्रोतका अनुसार सुनुवारलाई भौतिक पूर्वाधार, पराजुलीलाई पर्यटन, लिम्बूलाई स्वास्थ्य र मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी टुंगो लागको हो । कांग्रेसकी सचेतक शोभा चेम्जोङ राज्यमन्त्री बन्दैछन् ।
मुख्यमन्त्री कार्कीले एमालेबाट पनि सबै पुराना मन्त्रीलाई बिदा गरेर नयाँ टोली ल्याउने तयारी गरेका छन् । एमालेबाट विदुर लिङ्थेप, निरन राई, इन्द्रमणि पराजुली, तिलचन पाठक, ज्ञानेन्द्र सुवेदी र रामप्रसाद महतो मन्त्री बन्दैछन् ।
धनकुटाका पराजुलीलाई आन्तरिक मामिला, संखुवासभाका लिङ्थेपलाई आर्थिक मामिला तथा योजना र झापाका पाठकलाई खानेपानी तथा ऊर्जा मन्त्रालय दिइएको छ । सुनसरीका रामप्रसाद महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। एमालेकै उमाकन्त गाैतमलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त गरिन लागिएको छ।
