सालक खोज्न हङकङदेखि खोटाङसम्म 

हङकङका विद्यार्थी भन्छन् : न्यानो आतिथ्यता गर्ने स्थानीयको चलनले मन छोयो

पुस २२, २०८२

डम्बरसिं राई

From Hong Kong to Khotang in search of lizards

What you should know

खोटाङ — विश्वकै लोपोन्मुख जीव सालकबारे धेरै अध्ययन अनुसन्धान भइरहेका छन् । यसैबीच सालकबारे खोजबिन गर्न हङकङबाट २ विद्यार्थी खोटाङ आइपुगेका छन् ।

चाइनिज युनिभर्सिटी अफ हङकङमा बायोलोजी विषयमा स्नातक तेस्रो वर्षमा अध्ययरत युङ लोक यी (लुइस) र हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा बायोलोजी विषयमै स्नातक चौथो वर्ष अध्ययरत एनजी यु हङ (एन्डी) गत डिसेम्बर २४ मा खोटाङ आइपुगेका हुन् ।

उनीहरू आउनासाथ प्रकृति संरक्षण तथा अध्ययन केन्द्रको टोलीसँग मिलेर कालो सालक संरक्षण तथा वातावारणीय शिक्षासम्बन्धी गतिविधिमा सहभागी भएका छन् । 

सामुदायिक वन उपभोक्ता समूहहरूसँग मिलेर क्यामेरा ट्रयापिङ सर्वेक्षण, मेमोरी कार्ड परिवर्तन, जनावरका पदचिह्नको अध्ययन र वन्यजन्तु गतिविधि अभिलेख गर्दै करिब साता दिन बिताएको एन्डीले बताएका छन् ।

From Hong Kong to Khotang in search of lizardsमानव गतिविधिले वन्यजन्तुको आवतजावतमा असर पार्ने भएकाले दुर्गम क्षेत्र पुगेर जनावर हिँड्ने बाटो र पदचिह्न पहिचान गरी क्यामेरा जडान गरेको लुइसले अनुभव सुनाइन् । उनका अनुसार क्यामेरा जडान गर्दा जनावरको मूल बाटोलाई मध्यनजर गरी करिब घुँडाको उचाइमा क्यामेरा जडान गर्ने गरिन्छ । क्यामेरालाई सिधै बाटोतर्फ फर्काउने सट्टा अलिकति छेउको कोणबाट राख्दा जनावर फ्रेमभित्र लामो समय रहने र स्पष्ट तस्बिर कैद हुने सम्भावना हुने लुइस् सुनाइन् ।

१० किलोभन्दा बढीको झोला बोकेर दुई हजारमाथिको पदयात्रामा शारीरिक र मानसिक दुवै हिसाबले कष्टकर यात्रा भए पनि त्यसको प्रतिफल भने उत्साहजनक भएको एन्डीले बताएका छन् । क्यामेरामा लोपोन्मुख कालो सालकका साथै थार, ध्वाँसे चितुवा, चितुवा, आसामी बाँदर, घोरल, चरीबाघ, रतुवा मृग, गागटे न्याउरी मुसा, ढोडु, सानो सुँगुरेभालु, ठूलो नीरबिरालो, दुम्सी, गाजले नीरबिरालो, पहाडी मलसाँप्रो र मलसाँप्रो देखिँदा खोटाङको जैविक विविधता अझै समृद्ध रहेको संकेत गरेको एन्डी जनाएका छन् ।

यसका साथै 'माथि–माथि देखिने बादलको समुद्र' र टाढा देखिने हिमशृंखलाको दृश्यले सबै थकान बिर्साइदिएको उनीहरूको अनुभव छ । ‘त्यो दृश्यले फेरि ऊर्जा दिन्थ्यो,’ एन्डीले भने, ‘सबै कठिनाइ प्रेरणामा बदलिन्थ्यो ।’

उनीहरूले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१२ जालपा, ११ खार्मी र केपिलासगढी गाउँपालिका-१ फेदीका विभिन्न सामुदायिक वनहरूका पदाधिकारीहरूसँग छलफल, वन अनुगमन र वन्यजन्तुको बारेमा सर्वेक्षण गर्न सिकेको बताएका छन् । सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा अनुसन्धानकर्ताहरू तथा उनीहरूले क्यामेरा ट्रयापमा कैद गरेका वन्यजन्तुको भिडियो तथा फोटो गत शनिबार जालपामा सार्वजनिक गरिएको थियो ।

From Hong Kong to Khotang in search of lizardsयसका साथै उनीहरूले विद्यालयको समेत अवलोकन गरेका छन् । जालपा मावि र दिक्तेल इङ्लिस बोर्डिङ स्कुलका वातावरण संरक्षण समूहसँग समेत वातावरणीय गतिविधि सञ्चालनका अनुभव साटासाट गरेका छन् ।

विद्यालय परिसरमा कालो सालक संरक्षणसम्बन्धी सूचना बोर्डहरू राखिएको, त्यसमा सालकको बासस्थान, आनीबानी र सालकले भोगिरहेका खतरा उल्लेख गरिएको देख्दा झनै खुसी लागेको एन्डीले सुनाएका छन् । यसबाहेक विद्यालयको वन क्षेत्रमा सालकको दुई वटा पुरानो गुँड देख्दा स्थानीय समुदाय र शैक्षिक संस्थाको भूमिका महत्त्वपूर्ण रहेको अनुभूति भएको समेत बताएका छन् ।

यसबाहेक यात्राको क्रममा न्यानो आतिथ्यता गर्ने स्थानीयको चलनले मन छोएको लुइसले सुनाइन् । ‘चिसोबाट जोगिन बारम्बार सम्झाउने, स–साना तर आत्मीय खाजाको व्यवस्थाले घरकै अनुभूति दिलायो,’ लुइसले भनिन्–‘यसका साथै क्यामेरा ट्रयापिङसम्बन्धी सिकाउने अनुसन्धानकर्ताहरू प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका कार्यकारी निर्देशक जीवन राई र सुशीलचन्द्र राईप्रति आभारी छौं ।’ लुइस र एन्डी खोज सकेर सोमबार हङकङ फर्किसकेका छन् । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully