मातृभूमि ब्याण्डको १५ औं वार्षिक उत्सव तथा मन्त्र ब्याण्डको ‘हो म नेपाली टुर’ को अवसरमा गत मंसिर २ गते कन्सर्ट भएको थियो ।
ताप्लेजुङ — मन्त्र ब्याण्ड ताप्लेजुङले सञ्चालन गरेको लाइभ कन्सर्टबाट १२ लाख ४६ हजार रुपैयाँ बचत भएको छ ।
मातृभूमि ब्याण्डको १५ औँ वार्षिक उत्सव तथा मन्त्र ब्याण्डको ‘हो म नेपाली टुर’ को अवसरमा गत मंसिर २ गते कन्सर्ट भएको थियो ।
ङावरक सञ्जुम्बोको आयोजनामा फुङलिङस्थित माछापोखरीमा सामुदायिक भवन निर्माणका लागि मन्त्र ब्याण्डसहित मातृभूमि ब्याण्डको लाइभ कन्सर्टका लागि बिक्री गरिएको टिकट र दाताहरुबाट समेत गरी ३७ लाख ४ हजार रुपैयाँ संकलन भएको ङावरक सञ्जुम्बो फुङलेङका कोषाध्यक्ष राजदीप मादेनले बताए । जसमध्ये १८ लाख ८९ हजार ७ सय रुपैयाँ खर्च भएको छ ।
सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनमार्फत खर्च विवरण सार्वजनिक गरिएको हो । विभिन्न व्यक्ति र संस्थाले प्रतिबद्धता जनाएको ५ लाख ६८ हजार ५ सय रुपैयाँ उठ्न बाँकी रहेको मादेनले जानकारी दिए । यो रकम पनि उठेपछि बचत १८ लाख १४ हजार पुग्नेछ ।
सामुदायिक भवन निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको थियो । जग्गा खरिदको रकम पुगेको र अब भवन निर्माणको काम अगाडि बढाउने कोषाध्यक्ष मादेनले बताए । भवन निर्माणपछि फुङलिङ नगरपालिकाभित्र सामाजिक, सांस्कृतिक कार्यक्रम र खेलकुद गतिविधि सञ्चालनका लागि सहज हुने आयोजकले बताएका छन् ।
